नेपाली समय Loading...२०८१ बैशाख ६ बिहीबार

ओखलढुङ्गाको सुन्दरपुर बस्तीमा आगलागि, एकको मृत्यु ६ घाईते

विवेश श्रेष्ठ, ओखलढुङ्गा असोज २९ ।
सधै जसो सदरमुकाममा मानिसहरुको आवत जावत गर्ने काम आज पनि चलि रहेको थियो । केही दिनदेखी सदरमुकाममा अलिक भिड पनि बढेको थियो । भारतिय सेनामा कार्यरत भुपु गोर्खाली सैनिकहरुको पेन्सन लिन बृद्धबृद्धाहरु र म्यादी प्रहरीमा भर्तीहुन युवायुवतीहरुको भिड । केही गैर सरकारी सस्थाहरुले आफ्नो कार्यालयका लागि कर्मचारी भर्ना सम्बन्धी सूचना माग गरेको थियो । कोही त्यसका लागी पनि लागिरहेका थिए ।

ब्यस्त बजार चलिरहेको बेला सदरमुकामको गणेशचोक नजिकैवाट धुवाको मुस्लो निस्कियो । धुवा देख्नेहरुको ध्यान त्यतै गैहाल्यो । मान्छेहरु हल्ला खल्ला गर्दै कता के भयो भन्न थाले । एकैछिनमा धुवानिस्किएको पटिबाट मानिसको कोलाहल आयो । सगसगै एम्बुलेन्स र दमकलको साईरन पनि । मानिसहरु दमलकल र एम्बुलेन्सको साईरन बजेको र मानिसको कोलाहल भएको ठाउ तर्फ दौडिन थाले ।

सिद्धिचरण नगरपालिका वडा नंं. ११ को सुन्दरपुर वस्ती । त्यहाँको वस्तीमा नै आगो सल्किएको रहेछ । एकैछिन अगाडी बजारवाट देखिएको धुवाँको मुस्लो त त्यही आगलागिको पो रहेछ । हेर्दा हेर्दै बस्तीको १० घर र सगै रहेको सरस्वती माविमा पनि आगोले क्षती गर्यो । सायद तिहारको कारण होला । विद्यालयमा विद्यार्थी चाही रहेनछन् ।

मानिसहरु जम्मा भएर आगलागि भै रहेको नजिकै रहेको बाकी घरलाई कसरी जोगाउने भन्ने तर्फ लागे । कोही आगलागीमा फसेकाको उद्दार गर्न तर्फ । नेपाल रेडक्रस सोसाईटीको एम्बुलेन्सले घाईतेलाई सुरक्षित स्थल तर्फ लान थाल्यो । घाईतेलाई जम्मा गरेको स्थानमा नेपाल रेडक्रस सोसाईटीको प्राथमिक उपचारक टोलीले प्राथमिक उपचार गर्दै घाईतेहरुलाई नजिकैको अस्पताल तर्फ पठायो ।

नगरपालिकामा रहेको दमकलले आगो निभाउने प्रयास गर्यो । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि पुग्यो । आगो नियन्त्रणमा लिन र घाईतेको उद्दार तथा उपचारका लागि आवश्यक पहल कदमी लियो । तत्काललै घटनास्थलमा एउटा डोजर पनि पुग्यो र आगो थप अन्यत्र नफैलियोस भनेर आगलागि हुदै गरेको केही घर छाडेर एउटा घरलाई भत्कायो ।

आगलागि भएको घरसम्म पानीको फोहरा फालेर आगो नियन्त्रण गर्ने दमकलको पहिलो प्रयास असफल भयो । सुरक्षाकर्मीको टोलीले त्यसलाई सहजीकरण गरे । फेरी दमकलबाट दोश्रो प्रयासमा आगलागि नियन्त्रण भयो । आगलागिमा परि ७ जना घाईते भए । आगलागिमा परेर १ जनाको ज्यान गयो भने नजिकैको अस्पतालमा उपचार हुन नसकेपछि १ जना घाईतेलाई हेलिकप्टर मार्फत काठमाण्डौं पठाईयो । बाकी पाँचजनाको अस्पताललमा नै उपचार गरियो ।

यो घटना आज सदरमुकाम कै बस्तीमा घटेको भएपनि बास्तविकता चाही त्यसो थिएन । जिल्लाका विशिष्ट व्यक्तित्वहरुको उपस्थितीमा कार्यक्रम आयोजना गरिएको हो । घटनामा मानविय तथा अन्य क्षति नहोस भनेर सुरक्षा निकायका अधिकारीहरुले उच्च सतर्कता अपनाएका थिए । यो विपद् प्रतिकार्यका लागि आगलागिमा आधारित जिल्ला स्तरीय नमूना अभ्यास कार्यक्रमको थियो ।

विपद् जुन सुकै समयमा पनि आउन सक्ने घटना हो । त्यसवाट हुने क्षतीलाई कसरी कम गर्न सकिन्छ ? क्षतीलाई न्युनगर्न गर्नुपर्ने पूर्व तयारी र घटना घटि सकेपछि त्यसलाई कसरी व्यबस्थापन गर्ने भन्ने विषयमा जानकारी गराउने उद्देश्यले सम्भावीत नमुना घटनाको आयोजना गरिएको हो । सगरमाथा जनता उच्च माविको खेलमैदानमा कार्यक्रम भएको थियो ।

विपद् पूर्व तयारी हामी सबैको जिमेवारी भन्ने मूल नाराका साथ जिल्ला दैवी प्रकोप उद्दार समिति ओखलढुङ्गाले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम आयोजनाका लागि नेपाल रेडक्रस सोसाईटी ओखलढुङ्गा शाखा, लिखुदेम्बा सामुदायीक विकास मञ्च लगायत विभिन्न सरकारी तथा गैरसरकारी संघसस्थाहरुले सहयोग गरेका थिए ।