नेपाली समय Loading...२०८२ असार १७ मंगलवार

संघमा ओखलढुंगावाट एमालेको उम्मेदवार “अधिकारी र सुनुवार” सिफारिस

ओखलढुङ्गान्युज डटकम, असोज २०, ओखलढुंगा ।

नेकपा एमाले ओखलढुंगाले संघीय प्रतिनिधी सभा र प्रदेश सभाका आकांक्षी उम्मेदवाहरुको नाम सिफारिस गरेको छ । प्रदेश सभा निर्वाचन समन्वय कमिटीको सिफारिसमा जिल्ला कमिटीको बैठकले संघीय प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरु सिफारिस गरेको हो ।

प्रदेश सभाका लागि प्रत्यक्ष तर्फ निर्वाचन क्षेत्र नं. १ मा आर्थिक विभाग प्रमुख अम्बीरबाबु गुरुङ, सचिवालय सदस्य मेखबहादुर खड्का, जिल्ला सचिव शंकरबहादुर कटवाल र सांसद हर्कबोल राईको नाम नेपाली वर्णानुक्रम अनुसार सिफारिस गरेको छ । समानुपातिक तर्फ उत्तम राई, सासंद सकुन्तला राजभण्डारी बलबहादुर परियार, मानवबहादुर विक, मेखबहादुर गुरुङ, उर्मिला खतिवडा र सञ्जु श्रेष्ठ सिफारिसमा परेका छन् ।

निर्वाचन क्षेत्र नं. २ प्रत्यक्ष तर्फ वर्णानुक्रम अनुसार अनेरास्ववियु विदेश विभाग सदस्य अनिता गिरी, टंकलाल गिरी, नानीबाबु बुढाथोकी तीर्थ सुवेदी र नेत्रप्रसाद भट्टराइकाे नाम सिफारिस गरेको छ । समानुपातिक तर्फ नरबहादुर कटवाल, रामकुमार अछामी, अम्मता राई, नरेन्द्रकुमार श्रेष्ठ, गणेश कार्की, देवकुमार खड्का र पञ्चबहादुर तामाङको नाम सिफारिस गरिएको नेकपा एमाले प्रचार विभागका प्रमुख तीर्थ सुवेदीले बताए ।

संघीय प्रतिनिधी सभामा पार्टी केन्द्रिय सदस्य तथा जिल्ला ईञ्चार्ज यज्ञराज सुुनुवारको एकल नाम सर्वसम्मत बनाउन अधिकांश जिल्ला कमिटी सदस्यहरुले दवाव दिएपछि सुनुवारको एकल नाम पठाउने प्रयास भए पनि बैकल्पिक केन्द्रिय सदस्य किशोर अधिकारीले दावी गरेपछि दुवै नाम सिफारिस गरिएको छ ।

एक जिल्ला सदस्यका अनुसार जिल्ला कमिटी अधिकारीको पक्षमा नरहे पनि दावी आएकाले नेताको सम्मान गर्न दुवै नाम पठाउने सहमति भएको हो । निर्णय गर्ने अधिकार अब केन्द्रीय कमिटिलाई दिईएको छ । अधिकारी सोलु ईञ्चार्ज भए पनि सोलुको बैठकमा छोडेर ओखलढुंगाको बैठकमा सहभागी थिए । अधिकारी यस अगाडी भएको संसदको चुनावमा दुई पटक उम्मेदवार भएपनि निर्वाचित हुन सकेका छैनन् । सुनुवार भने ०६४को संबिधानसभा सदस्यको चुनावमा निर्वाचित हुन नसकेपनि ०७०को चुनावमा ओखलढुङ्गा निर्वाचन क्षेत्र नंं. १ वाट प्रत्यक्ष निर्वाचित प्रतिनिधी सभा सदस्य हुन ।

संघीय प्रतिनिधी सभाको समानुपातिक तर्फ चम्पा राई, सिताराम गुरुङ, ओम दयाल र युवा संघका नेता फणिन्द्र लुईटेलको नाम सिफारिस गरिएको छ । पार्टीको सर्कुलरमा प्रत्येक निर्वाचन क्षेत्रमा अधिकतम् तीन तीन जनाको नाम पठाउन भनिए पनि अकांक्षी धेरै भएका र गुटबन्दीका कारण जिल्ला कमिटीले धेरै नाम पठाएको हो  ।

धेरैले राजनीतिक प्रोफाइलका लागि नाम राख्न दवाव दिए पनि निर्वाचन क्षेत्र नं. १ मा अम्बीरबाबु गुरुङ, शंकर कटवाल र हर्कबोल राई  सशक्त दावेदार हुन् ।

त्यस्तै क्षेत्र नं. २ मा पार्टी उपाध्यक्ष नेत्रप्रसाद भट्टराई, नानीबाबु बुढाथोकी र तीर्थ सुवेदी मुख्य दावेदार देखिएका छन् । कार्यकर्ताले राजनीतिमा लामो समय योगदान गरेका भट्टराईलाइ नै उम्मेदवार बनाउन माग गरेका छन् ।