नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

महासचिब सहित तीन जनालाई कार्बाही, १५ दिन निष्काशनको सिफारिस

ओखलढुङ्गान्युज डटकम, भदौ २९ काठमाडौं

एन्फाका तीन जना पदाधिकारीलाई १५ दिनको लागि बर्खास्त गर्न सिफारिस गरिएको छ । एएफसीले पठाएको इमेल पनि नहेरेका कारण थ्रीस्टार क्लवले एएफसीकप छनौटको खेल खेल्न नपाएको विषयलाई लिएर बर्खास्तका लागि सिफारिस गरेको हो ।

उपाध्यक्ष मणि कुँवरको संयोजकत्वमा बनाइएको तीन सदस्यीय समितिले फिफा र एएफसीका इमेल चेक गर्ने मुख्य जिम्मेवारी लिएका महासचिव धिरेन्द्र प्रधान, कर्मचारी प्रमुख गोकुल थापा र बसन्त रिजालकै गल्तीका कारण थ्रीस्टारले प्रतियोगिता गुमाएको र एन्फालाई घाटा लागेको भन्दै उनीहरुलाई १५ दिन निष्काशन गर्न सिफारिस गरेको हो।

एन्फाको लापरवाहीका कारण प्रतियोगिता गुमाउनुपरेको भन्दै थ्री स्टार क्लवले ६ करोड रुपैयाँ क्षतिपूर्ति मागेको थियो । तर डेढ करोडमा सहमति भएको थियो । ‘हुन त यसअघिको समितिले दिएको सिफारिस पनि कार्यान्वयन भएको होइन, तर मणि जी को समितिले पनि महासचिवसहित तीन जनालाई १५ दिन निष्काशन गर्न सुझाव दिएको छ, तर के हुने भन्ने कुरा त विशेष साधारणसभाले नै निर्णय गर्नेछ’ एक पदाधिकारीले भने ।

एन्फाका अध्यक्ष श्रेष्ठले पनि समितिले दिएको सिफारिसका आधारमा गल्ती गर्नेलाई कारबाही गर्न आफू तयार भएको बताए । त्यस्तै थ्रीस्टारलाई एकै किस्तामा डेढ करोड रुपैयाँ दिन नसकिने र किस्ता किस्ता गरेर रकम दिइने पनि उनले बताए । एन्फाका जिम्मेवार कर्मचारीको गैरजिम्मेवार कामका कारण थ्रीस्टारले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाएको र डेढ करोड रुपैयाँ घाटा लागेको भन्दै केही कर्मचारीले दोषीलाई कारबाहीको माग गरेपछि २०७३ सालको मंसिरमा एन्फाका उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा छानबिन समिति बनाइएको थियो ।

समितिले फिफा र एएफसीका इमेल चेक गर्ने मुख्य जिम्मेबारी महासचिव धिरेन्द्र प्रधानको भएको र त्यसमा कर्मचारी प्रमुख गोकुल थापा र बसन्त रिजालको पनि गल्ती रहेको निष्कर्षसहित तीनैजनालाई दोषी ठहर गरेको थियो । तर झण्डै ८ महिनासम्म यो विषय सेलायो । दोषीलाई कारबाही नगर्ने चलखेल भएको एन्फाको कार्यसमितीका सदस्यले उज्यालोलाई बताएका थिए । साउन ३२ गतेको एन्फा कार्यसमितिको बैठकले उपाध्यक्ष मणि कुँवरको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति बनायो र समितिको प्रतिवेदनका आधारमा दोषीलाई कारबाही गर्ने पनि भनिएको थियो ।