नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

समाजसेवी कार्की सम्मानित, सिडिओ र डिएसपीले गरे खादक बहिष्कार

ओखलढुङ्गान्युज डटकम, भदौ २६ ओखलढुङ्गा ।
आईतवार जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न एक कार्यक्रममा समाजसेवी भिम बहादुर कार्की सम्मानित भएका छन् । समाजसेवी कार्कीलाई जिल्लामा कृयाशिल गैरसरकारी संस्था परिवर्तनशील महिला सामुदायीक संस्थाले सम्मान गरेको हो ।

जिल्ला समन्वय समितिको कार्यालय नजिकै करिब ६ लाख मुल्य बराबरको ८ आना जग्गा संस्थालाई निशुल्क उपलब्ध गराईदिए वापत उक्त संस्थाले कार्कीलाई सम्मानपत्र प्रदान गर्दै खादा ओढाएर सम्मान गरेको हो । सिद्धिचरण नगरपालिकाका उपप्रमुख ईच्छा कुमारी गुरुङ र प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले कार्कीलाई संस्थाको तर्फवाट सम्मान गरेका हुन् ।

समाजसेवी कार्की सगै सिद्धिचरण नगरपालिकाका प्रमुख, उपप्रमुख र वडा नं. ११ र १२ का निर्वाचित जनप्रतिनिधीलाई संस्थाले सम्मान गर्ने कार्यक्रम रहेको भएपनि उपमेयर र केही सदस्य बाहेक जनप्रतिनिधीहरु उपस्थित भएनन् । नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठ भने मातृशोकमा छन् ।

जिल्लामा भर्खआएका प्रमुख जिल्ला अधिकारी जनकराज पन्त र प्रहरी नायव उपरिक्षक अर्जुन प्रसाद तिमल्सीनालाई पनि जिल्लामा स्वागत गरिएको थियो । स्वागत कार्यक्रममा अयोजकले प्रजिअ र डिएसपीद्वयलाई खादा खादक ओढाईदिने तयारी गर्दा उहाँहरुले त्यसको अस्विकार गर्नु भएको छ । खादकले प्राकृतिक वातावरणमा असर गर्ने भन्दै सकभर त्यसको प्रयोग नगर्न र हामी सगै भएका प्राकृतिक पुष्पगुच्छाका प्रयोग गर्न अनुरोध गर्दै खादकलाई अस्विकार गर्नुभएको हो ।

अन्तरक्रियामा गतवर्षको तुलनामा यो आर्थिक वर्षमा लैङ्गिक हिंसा बढेको भन्दै सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन् । अन्तरक्रियामा गतवर्षको तुलनामा यो आर्थिक वर्षमा झण्डै दोब्बर संख्यामा लैङ्गिक हिंसाको घटना बढेको तथ्यांक प्रस्तुत गरिएको थियो ।

तथ्यांक प्रस्तुतपछि जिल्लामा बढि रहेको लैङ्गिक हिंसालाई कम गराउन आउदै गरेको नगरपरिषदवाट पनि कार्यक्रम सञ्चालनका लागि बजेट विनीयोजन गर्ने बताउनुभयो । त्यस्तै प्रमुख जिल्ला अधिकारीले विभिन्न गैससहरुले सञ्चालन गरेको लैङ्गिक हिंसा सम्बन्धि कार्यक्रमहरु कागजमा मात्रै सिमित बनेको भन्दै कागजमा मात्रै सिमित नगर्न अनुरोध गर्नुभयो ।

“लैङ्गिक हिंसा नियन्त्रण नै त गर्न सकिन्न । तर कम गर्न सकिन्छ । हिंसाका घटनाको प्रकृती फरक फरक छन् । लैङ्गिक हिंसाका घटनालाई मिलाउने तर्फमात्रै लाग्नु हुन्न । कार्बाही गर्नुपर्छ । घटना मिलाउदा विकृती फैलाउछ पिडकले संरक्षण पाउछ ।” प्रजिअ पन्तले थप्नुभयो, “लैङ्गिक हिंसाका घटनामा उजुर परेमा जसरी पनि कार्बाही गराएरै छाड्छु । कोही कतैवाट भनसुन आएपनि त्यसलाई म सुन्नेवाला छैन । यो मेरो प्रतिबद्धता हो ।”

अन्तरक्रिया कार्यक्रमको सिद्धिचरण महिला बचत तथा ऋण सहकारी संस्था ओखलढुङ्गा र परिवर्तनशील महिला सामुदायीक संस्थाले कार्यक्रमको आयोजना गरेका हो ।