नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

जुत्ता सिउँदै गरेका पाका उमेरका खिम बहादुर भन्छन्, “बाध्यतालाई उमेरले छेक्दैन रहेछ”

विएन श्रेष्ठ, ओखलढुंगा भदौ १५ . 
सदरमुकाम बजारबाट उकालो चढ्दै गर्ने पहिलो खुड्किलोमा बस्छन् खिम बहादुर । यानकी सिद्धिचरण नगरपालिका वडा नं. ९ स्थायी घर भएका खिम बहादुर सार्की । उमेरले सात दशक पार गरेर आठौ दशकको छेउमा छन् उनी । उनको पेशा हो सानै देखी जुत्ता सिलाउने ।

सार्की भन्छन्, उमेरले आठ दशक पुग्न आटेको संकेत गरेपनि आफ्नो पुर्खा देखी गर्दै आएको परम्परागत पेसा छाड्न उनलाई मन छैन । भन्छन्, ‘उमेरले पाको भइसकियो तर पनि आफ्नो पुर्खाले गर्दै आएको परम्परागत पेसा छाड्न मन छैन । किनकी यसैवाट परिवार धानिदै आएको छ । अाफुले पढीएन पनि । उबेला पढ्ने कुरा त एकादेशकाे कथा जस्तै थियाे । अरु पेशा जानिएन ।’

उनी ओखलढुंगा सदरमुकाममा बुधबार र शनिवार लाग्ने हटिया बजारमा सदैव आफ्नो दैनिक गुजारा चलाउन जुत्ता सिलाउन आउने गर्छन् । उनीलाई घरवाट हिडेर नै आउनु पर्छ । घरदेखी बजार सम्म आईपुग्न करिब साढे १ घण्टा पैदल यात्रावाट दुरी तय गर्नुपर्छ । बजारमा कमाई हुने समय पनि विहानी पख नै हो । त्यसैले विहानी पखको झिसमिसे उज्यालो नहुदै घरवाट निस्कीएर बजार आईपुग्छन् उनी । हटिया बजार लागेको दिन जुत्ता सिलाएर ५ देखि १ हजारसम्म कमाउने गरेको उनी बताउँछन् । कहिलेकाही रित्तो हात पनि फर्कनु परेको बताउछन् उनी ।

पाँच छोरी र दुई छोराका अभिभावक खिमबहादुर सार्की प्राय सधैं हटियामा भेटिन्छन् । जुत्ता सिलाएरै कमाएको पैसाले पाँच छोरी र एक छोराको विवाह गर्नेदेखि सम्पूर्ण घरखर्च चलाउने गरेको उनको भनाइ छ । उनको २ छोरामध्ये एउटा केही महिना अगाडी विदेशमा गएका छन् भने एउटा भर्खर कक्षा १० मा पढ्दै गरेका छन् ।

छोरो विदेशमा कमाउन गएको छ अब त तपाईँलाई यो काम नगरे पनि व्यवहार चलाउनै त गाह्रो छैन होला नि ? भन्ने प्रश्नमा उनी भन्छन्, “विदेशमा पैसा कमाउन धेरै पसिना बगाउनुपर्छ । विदेश गएको पनि धेरै भएको छैन । उसले कमाएको पैसाले विदेश जादाको ऋण समेत तिरी सकेको छैन । उसले मरुभूमिमा गएर बगाएको पसिना किन यहाँ खर्च गर्ने भनेर पुर्खाको पेसालाई निरन्तरता दिँदै आएको हुँ ।”

अहिले नेपाली समाजमा करिब ५० को उमेर कटेपछि काम नगर्ने अर्थात रोगको सिकारी भएको पाईन्छ । उमेरले नेटो कटेकामा भन्दा तन्नेरी युवाहरुलाई सानोकाम, कम पैसा, धेरै श्रम गर्नुपर्ने भन्दै काम नगर्नेको भिड बाक्लैछ । श्रम गर्न उनीहरु फुर्सद नभएको बहाना गर्छन् भने आफ्नो समय धुम्रपान, मद्यपान र जुवातासमा व्यतित गरिरहेको पाईन्छ । तर जुत्ता सिलाउदै आएका सार्की भछन्, “काम गर्न उमेरले छेक्दैन । सकुन्जेल आफूले जानेको काम निरन्तर गरिरहन्छु । काम गर्न उमेरले केही पनि गर्दैन चोरेर खान नपरोस् ढाँट्नु नपरोस् सकुन्जेल आफूले दुःख गरेरै खान पाए भयो ।”

जुत्ता सिलाउनका अलवा उनी भैंसी र राँगाको छालाबाट हल्लुणसमेत बनाएर बेच्ने गर्छन् । उनी पछिल्लो समयमा नाइलनको डोरी बजारमा आएसँगै हल्लुणको व्यापार कम हुँदै गएको गुनासो गर्छन् । आफू उमेरले ७७ वर्ष पुगेको बताउने उनी अझै पनि काम गर्न उत्तिकै उत्साह रहेको सुनाउँछन् ।

हटियाको दिन जुत्ता सिलाएर कमाएको पैसा सबै घरमा श्रीमतीलाई दिने गरेको उनी बताउँछन् । उनी थप्छन्, “धन कमाउन र धर्म कमाउन भगवान नै पुज्नु पर्दैन । हटियामा बसेर मैले पैसो कमाई रहेको मात्रै छुईन, धर्म पनि गरेको छु । शारिरीक व्यायामका लागि दौडने, ठुलै भारी बोक्ने गर्नु पर्दैन । आफ्नो दिनचर्यालाई नियमीत गरिरह्यो भने त्यही नै हुन्छ शारिरीक ब्यायाम । मेरो धर्मले थामेसम्म म पनि स्वस्थ नै छु । तन्दुरुस्त छु । मउमेर ढल्केपछि केही रोगहरुले चापीहाल्छ नै । तरपनि ज्यानले धाने सम्म म मेरो पेशा र धर्म छाड्दिन ।”