नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

ओखलढुंगा जिल्लामा सरसफाई अभियान र नागरिक सहभागिताको अवस्था

 

                       राम प्रसाद ज्ञवाली
      सहायक प्रमुख जिल्ला अधिकारी

अाेखलढुङ्गा भदाै १२ । वातावरणमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपले ह्राश ल्याउने क्षति वा हानि नोक्सानी पु¥याउने कार्यलाई न्यूनीकरण गर्दै वातावारणका विभिन्न अवयवहरु तथा तिनीहरुको अन्तरसम्बन्धमा समेत कुनै खलल नपु¥याकन स्याहार सम्भार, सम्बर्धन एबं सदुपयोग गर्ने उद्देश्यका साथ जिल्ला प्रशासन कार्यालयको विशेष अगुवाइमा यस जिल्लामा वातावरण ब्यबस्थापनको कार्यलाई प्राथमिकताका साथ अगाडी बढाइएको छ ।

प्रदुषण रहित स्वच्छ वातावरणको निर्माण गरी सुन्दर र स्वस्थ ओखलढुंगा निर्माणको अभियानलाई साकार बनाउन सबैभन्दा पहिले “आफ्नो कार्यालय आफै सफा राखौ” भन्ने अभियानलाई सुरुवातको चरणमा यस जिल्लाको प्रमुख सरकारी नियामक निकाय जिल्ला प्रशासन कार्यालयबाट सुरु गरिएको हो ।

वातावरणको संरक्षण केवल सरकारका निकायको मात्र भूमिकामा रहने बिषय होइन, यो त सरकारी, निजी, सामुदायिक क्षेत्रका निकाय तथा आम जनताको अत्यन्त महत्वपूर्ण चासो र खाँचोको बिषयको रुपमा रहने गर्दछ । वातावरण सम्बन्धी जनचेतनामा अभिवृद्धि गर्नका लागि पनि वातावरण सरसफाइको कार्यलाई अभियानका साथ संचालन गरिनु आवश्यक हुन्छ भन्ने बुझेर नै ओखलढुंगा जिल्लामा वातावरण ब्यबस्थापन तथा प्रदुषण नियन्त्रणका विभिन्न अभियानहरु संचालन गरिन थालिएको छ ।

‘आफ्नो कार्यालय आफै सफा गरौँ’ भन्ने अभियानले कार्यालयको सरसफाई र प्रदुषण नियन्त्रणमा नातिजामुलक सहयोग गर्न सफल भएपछि अब जिल्ला प्रशासन कार्यालयले जिल्लाका सम्पूर्ण सरकारी तथा गैरसरकारी निकायहरुलार्इ पनि साप्ताहिक रुपमा यो अभियानलाई प्रभावकारी ढंगले संचालन गर्न निर्देशन दिएकोछ । उक्त अभियानको कार्यान्वयन के कसरी भइरहेको छ भन्ने बिषयलाई अनुगमन गरी त्यसलाई सफलीभूत बनाउने कार्यलाई अगाडी बढाईएको छ ।

जिल्ला प्रशासन कार्यालयले भाद्र १२ गते सोमवार ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका क्षेत्रको बजार क्षेत्रमा सरसफाई गर्न विभिन्न निकाय संघ संस्था तथा आम नगरवासीलाई आमन्त्रण गरी बिहान सात बजे देखि दुइ वटा टोलिमा आबद्ध रही सरसफाइको कार्यमा तदारुकताका साथ जनपरिचालन गरेको छ । हुलाकडाडामा भेला भएर सरसफाइका लागि खटिने योजना अनुरुप जिल्ला प्रशासन कार्यालयका अधिकाधिक कर्मचारीको सहभागिता सहित सुरक्षा निकायका प्रमुखहरु, सरकारी तथा गैर सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरु, स्थानीय राजनीतिक दल, जनप्रतिनिधिहरु, संचारकर्मीहरु तथा नगन्य संख्यामा नगरवासीहरुको समेत उपस्थिति रहेको थियो ।

सरसफाई कार्यक्रममा सहभागीको संख्या हेर्दा आमरुपमा नगरवासीको उपस्थितिको अबस्था अत्यन्त नाजुक थियो । राष्ट्रसेवक सुरक्षाकर्मीहरुको बाक्लो उपस्थितिको कारण सरसफाइका क्रियाकलापहरु प्रभावकारी भएता पनि झट्ट हेर्दा कुनै महाबिपत भई उद्धारका निम्ति खटिएको टोली हो कि भन्ने भान पर्दथ्यो । हुन त नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले विभिन्न राष्ट्रिय अवसरहरुमा नगर सरसफाई तथा मन्दिर, पाटिपौवाको सरसफाई गर्ने अभियान संचालन गर्दै आएको हुन्छ । बेलाबखत हुने सरसफाइका अभियानमा सुरक्षाकर्मीहरु सहभागी भए तापनि सुरक्षाको महान र संबेदनशील कार्यमा खट्ने निकायलाई सरसफाइका कार्यमा नियमित सहभागी गराउनु उचित हुदैन ।

आफ्नो नगरको सफाइको लागि नगरवासी स्वतस्फुर्त रुपमा लाग्नु नै नगर क्षेत्रको दिगो वातावारण ब्यबस्थापनको पूर्वशर्त हो िस्थानीय क्षेत्रको सर्वपक्षीय बिकासमा स्थानीय जनताको सहभागिताको सुनिश्चितता नगर्दा सम्म स्थानीय क्षेत्रको बिकास सम्भव हुदैन । यसपटकको नगर सरसफाईको कार्यमा जनसहभागिताको अवस्था न्युन हुनुमा सुचना प्रवाहको समस्या, छलफल तथा अन्तरक्रियाको कमि, जनसशक्तिकरणको अभाव, परिचालनको संयन्त्र नबन्नु मात्र नभई समन्वयको कमि हुन गएको बिषयलाई नकार्नु हुदैन ।

त्यसो त ओखलढुंगा जिल्लाको बिकासमा सामुदायिक संलग्नताको स्थिति निकै कमजोर रहदै आएको देखिन्छ । यसो हुनुमा सामाजिक परिचालन तथा स्वामित्व अभिवृद्धिका कार्यक्रमहरुको निरन्तरता नहुनु समस्याको रुपमा रहेको छ । एकातिर वातावरणीय स्वच्छताको महत्वको बारेमा नगरवासी सुसुचित हुन नसकेको यथार्थ छ भने अर्कोतिर नागरिक कर्तव्य र जिम्मेवारीबोधको अवस्था पनि कमजोर नै रहेको देखिन्छ ।

बर्तमानमा स्थानीय तहको निर्वाचन सम्पन्न भई सबै स्थानीय तहमा जनप्रतिनिधिले आफ्ना कार्यहरु सामान्य रुपमै भए पनि सुचारु गरिरहेको अवस्था छ । अब स्थानीय क्षेत्रमा जनपरिचालनका योजनाहरु बनाउने, बिकासका हरेक चरणमा जनसहभागिताको सुनिश्चितता कायम गर्ने तथा योजना छनौट, कार्यान्वयन, अनुगमन, लाभ हानि वितरण, मर्मत सम्भार, मुल्यांकन, दिगोपना कायम गर्ने जस्ता सम्पूर्ण चरणमा स्थानीय जनताको सहभागितालाई महत्वका साथ लिनु आवश्यक छ । यसो भएमा मात्र स्वच्छ, ओखलढुंगा सुन्दर र हराभरा ओखलढुंगा तथा संमृद्ध ओखलढुंगाको निर्माण भई संघियताको लाभ समेत जनताले उपभोग गर्न सक्ने छन् ।