नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

नेपाल बैंक लिमिटेड धरान शाखावाट दुई क्यासियर सहित चारजना कर्मचारी प्रहरीको नियन्त्रणमा

सुनसरी, भदौ ३ ।
नेपाल बैंक लिमिटेड धरान शाखामा भएको सुन धितो ठगीमा संलग्न रहेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो ९सीआईबी० ले बैंकका दुई क्यासियर सहित चारजना कर्मचारी र सात जना ऋणी गरी ११ जना लाई शुक्रबार धरानबाट पक्राउ गरेको छ । व्यूरोका प्रहरी नायव उपरीक्षक (डीएसपी) कमल थापा नेतृत्वको टोलीले बैंकका क्यासियर होम भट्टराई र सानुवाबु श्रेष्ठसहितका कर्मचारीलाई छाताचोकस्थित कार्यालयबाट र ऋणीहरुलाई उनीहरुको घर र पसलबाट पक्राउ गरेको हो ।

बैंकमा क्यासियरहरुले नै सुन जाँचकीको काम गर्ने गरेका थिए। बैंकले धरानका विभिन्न सुन पसललाई थोरै सुन धितो राखेर धेरै ऋण दिएको थियो। बैंकको धरान शाखाबाट धरानको नयाँ बजारमा रहेको न्यू भिजन ज्वेलरीका सञ्चालक ज्ञानेन्द्र पुकुर्टी, रत्न रोडमा रहेको वेसिल गहना गृहका सुनिल वराइली, सेञ्चुरी बैंकमा कसुर गरी कारबाही भोगिरहेका सञ्जय राई सहितको समूहले थोरै सुन राखेर १४ करोड रुपैयाँ रकम निकालेका थिए।

बैंकको नियमित लेखा परीक्षण गर्दा बैंकमा थोरै धितो राखेर धेरै ऋण दिएको पाइएपछि केन्द्रीय कार्यालयले विशेष लेखा परीक्षण टोली पठाएको थियो। लेखा परीक्षण गर्दा बैंकमा रकम ठगी भएको प्रमाण फेला परेपछि बैंकले आन्तरिक कारवाही गरिरहेको समयमा सीआईबीको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो। सादा पोशाकमा आएको प्रहरी टोलीले बैंकमा रहेका कागजात सबै लिएर गएका छन् ।

बैंकका प्रबन्धक बाबुराम कोइराला सो घटनापछि आएकाले उनलाई भने टोलीले पक्राउ गरेको छैन । पक्राउ परेका कर्मचारी र ऋणीहरुलाई शुक्रबार पूर्व क्षेत्र प्रहरी कार्यालयमा राखेको थियो । न्यू भिजन गहना गृहका ज्ञानेन्द्र पुकुटीले मात्र बैंकबाट १० करोड ऋण लिएको बैंक स्रोतले बतायो। बैंकका उपकार्यकारी निर्देशक दुर्गाप्रसाद रेग्मीले सीआईवीले उनीहरुलाई अनुसन्धानका लागि लगेको बताए ।

शंका लागेपछि अनुसन्धान त सबैमा हुन्छ त्यसलाई पक्राउ भन्न मिल्छ कि मिल्दैन सोचौं उनीहरुलाई अनुसन्धानका लागि चाहिं लगिएकै हो’ उनले भने । पक्राउ परेकाहरुका बारेमा प्रहरीले भने केही बताएको छैन । सीआईबीको टोलीले एकै पटक यति धेरै मानिसहरुलाई धरानबाट पक्राउ गरेको यो पहिलो पटक हो ।