नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

यसवर्षको मोतीराम–सेतुराम गजल पुरस्कार काफ्ले र बञ्जारालाई दिइने

ओखलढुङ्गान्युज डटकम, काठमाण्डौ– भदौ २ ।

मोतीराम–सेतुराम गजल पुरस्कार यस वर्ष संगीतकार चण्डी प्रसाद काफ्ले र लोकेन्द्र बञ्जारालाई दिइने भएको छ । नेपाली गजलको विकास, बिस्तार र परिष्कारमा एक दशकभन्दा अगाडिदेखि सक्रिय अनाममण्डलीले हरेक वर्ष प्रदान गर्दै आएको मोतीराम–सेतुराम गजल पुरस्कारु यस वर्ष संगीतकार चण्डीप्रसाद काफ्ले र लोकेन्द्र बञ्जारालाई दिइने भएको हो ।

युवागजलकार लोकेन्द्र बञ्जारा दुई दशकदेखि नेपाली गजललेखनमा सक्रिय रही आएका छन् । उनका आँखाभरि सपना २०६२ र जैतुन २०७३ गजलकृति प्रकाशित छन् । संगीतकार काफ्ले शास्त्रीय संगीतको प्रशिक्षणमा लामो समयदेखि क्रियाशील छन् । उनी पछिल्लो समय गजल संगीतमा पनि उत्तिकै सक्रिय रहँदै आएका छन् । यस पटकको पुरस्कार बञ्जाराले जैतुन गजलकृतिका लागि प्राप्त गरेका हुन् ।

अनाम मण्डलीले आदिगजलकार मोतीराम भट्ट र आदिसंगीतकार सेतुरामको सम्मानमा गजल कृति तर्फ र गजल संगीत तर्फ गरी दुईवटा पुरस्कार प्रदान गर्दै आएको अनाम मण्डलीका अध्यक्ष रुपक अलंकारले जानकारी दिए । यी दुवै पुरस्कारको राशि पाँच हजार रुपैयाँ रहेको छ ।

डा. देवी नेपालको संयोजकत्वमा गठित प्रभाती किरण र घनेन्द्र ओझा सदस्य रहेको पुरस्कार छनोट समितिले बिहीबार उक्त निर्णय गरेको अनाममण्डलीले बताएको छ। दुवै पुरस्कार मोतीजयन्तीको अवसरमा भदौ ५ गते नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजना गरिने कार्यक्रममा प्रदान गरिने अध्यक्ष अलंकारले बताए ।