नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

जिल्ला समन्वय समिति ओखलढुङ्गा कांग्रेसको कब्जामा

विवेश श्रेष्ठ,ओखलढुङ्गा, भदौ २ ।
आज शुक्रबार भएको जिल्ला समन्वय समिति ओखलढुङ्गाको निर्वाचनमा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । शुक्रबार, आज भएको जिल्ला समन्वय समितिको निर्वाचनमा ओखलढुंगाका एक नगरपालिका र ७ गाँउपालिका सहित ८ स्थानीय तहका प्रमुख र उपप्रमुखहरुले मतदान गरेका थिए ।

८ स्थानीय तहका १६ जना प्रमुख तथा उपप्रमुखहरुले मतदान गरेको जिल्ला समन्वय समितिको निर्वाचनमा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको हो । शुक्रवार हुने निर्वाचनका लागि जिल्ला समन्वय समितिको प्रमुख पद सहित ३ पदमा नेकपा एमालेले पनि उमेद्वारी दर्ता गराएको थियो । निर्वाचनमा १६ मत खसे पनि एक मत भने बदर भएको थियो । निर्वाचन चिन्ह भन्दा बाहिरको भागमा मतदानको संकेत गरेकोले उक्त मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतदानमा खसेको कुल मत १६ र सदर मत १५ मध्ये कांग्रेसबाट उम्मेदवार बनेका प्रमुख पदका उम्मेदवार जयबहादुर श्रेष्ठले ९ मत प्राप्त गरी विजयी भए । जिल्ला समन्वय समितिको प्रमुख पदमा एमालेका उम्मेदवार प्रकाश कटुवालले ६ मत पाए । उपप्रमुखमा भने कांग्रेसकै दिलकुमारी खतिवडा निर्विरोध निर्वाचित भै सकेकी थिईन । सदस्यहरुमा विजय लामा, सुन्तला परियार, होमबहादुर विक, ओमकुमारी दाहाल, सीता सार्की, नीरबहादुर मगर र रामचन्द्र बोगटी विजयी भएका छन् । जिल्ला समन्वय समितिको सदस्य पदमा निर्वाचित भएका रामचन्द्र बोगटी कान्छा उमेरका सदस्य बनेका छन् । उनी लिखु गाँउपालिका वडा नं. १ सिंहदेवीवाट वडा सदस्य पदमा निर्वाचित भएका थिए ।

कान्छा सदस्य रामचन्द्र बाेगटी

निर्वाचनलाई लक्षित गरेर संख्यात्मक रुपमा हेर्दा ओखलढुंगामा नेपाली कांग्रेसका ९, एमालेका ६ र माओवादी केन्द्रको १ मत रहेको थियो । जिल्लामा रहेका ८ स्थानीय तहमा नेपाली कांग्रेसले खिजीदेम्बा, चम्पादेवी, सुनकोसी, र मानेभन्ज्याङ गाँउपालिकामा विजयी हासिल गरेको थियो भने मोलुङ गाउँपालिकामा उपप्रमुख मात्र जितेको थियो । त्यस्तै, एमालेले जिल्लाको लिखु गाउँपालिका र सिद्धिचरण नगरपालिकामा प्रमुख उपप्रमुख नै जितेको थियो भने मोलुङ गाउँपालिकामा प्रमुख र चिसंखुगढी गाउँपालिकामा उपप्रमुखमा विजयी भएको थियो । ओखलढुंगामा माओवादी भने चिसंखुगढी गाउँपालिकाको प्रमुख पदमा मात्र विजयी भएको थियो ।

जिल्ला समन्वय समितिमा निर्वाचित सबै पदाधिकारीहरुलाई शुक्रबारै मुख्य निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवालीले सपथग्रहण गराउनु भएको छ । सपथ ग्रहण पछि प्रतिबद्धता व्यक्त गर्दै नवनिर्वाचित जिल्ला समन्वय समितिका संयोजक जय बहादुर श्रेष्ठले हिजो जो जे पार्टीमा रहेपनि जिल्ला समन्वय समितिमा निर्वाचित भै सकेपछि सबै नागरिकको प्रतिनिधी भएर ओखलढुङ्गालाई सुन्दर र विकसीत ठाउ बनाउन लागिपर्ने बताउनु भयो । त्यसका लागि सबै राजनितिक दल, नागरिक समाज तथा कर्मचारीहरुवाट सहयोगको लागि आग्रह समेत गर्नुभयो ।