नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

ओखलढुङ्गामा पनि दोश्रो सामुदायिक वन राष्ट्रिय दिवस मनाउन सुरु

जिल्ला वन अधिकृत विरेन्द्र साह

साउन २४, ओखलढुंगा । आजवाट ओखलढुङ्गामा पनि विभिन्न कार्यक्रमका साथ दोश्रो सामुदायिक वन राष्ट्रिय दिवस मनाउन सुरु गरिएको छ । यस वर्षको सामुदायिक वन राष्ट्रिय दिवसको नारा “संघियतामा सामुदायिक वन, स्थानीय समुदायको पहिचान” भन्ने रहेको छ । यसै मुल नाराका साथ जिल्ला वन कार्यालयको अगुवाईमा आजवाट दोस्रो सामुदायिक वन राष्ट्रिय दिवस मनाउन सुरु गरिएको हो ।

दोश्रो सामुदायिक वन राष्ट्रिय दिवसको तिनदिने कार्यक्रम अनुसार कार्यालयले मंगलबार पत्रकार सम्मेलन गरेर ओखलढुङ्गा जिल्लामा हालको सामुदायिक वनको अवस्था तथा विविध पक्षहरुलाई समेटेर सम्बन्धित विषयमा अन्तरक्रिया पनि गरेको छ । दोश्रो सामुदायिक वन राष्ट्रिय दिवसको दोश्रो दिन भोली बुधबार ¥याली पश्चात सरोकारवालाहरुसँग अन्तरक्रिया गर्ने र तेस्रो दिन वृक्षारोपण गर्ने कार्यक्रम रहेको जिल्ला वन कार्यालय ओखलढुङ्गाले जनाएको छ । भोलि बुधवार विहान खाद्यसंस्थानबाट सुरु हुने ¥याली नगर परिक्रमागरि जिल्ला समन्वय समिति ओखलढुङ्गाको परिषरमा पुगेपछि कोणसभा सञ्चालन गरिने जिल्ला वन कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी शुसान्त पोख्रेलले जानकारी दिए ।

त्यस्तै अन्तरक्रिया कार्यक्रममा ओखलढुङ्गा जिल्ला वन अधिकृत विरेन्द्र साहले सामुदायिक वन संरक्षणमा सबैको भूमिका महत्वपूर्णहुने बताए । मंगलबार कार्यालयमा आयोजित अन्तरक्रिया तथा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै जिल्ला वन अधिकृत साहले कुनै एक पक्षको प्रयासले मात्रै वनक्षेत्र संरक्षणको प्रयास सम्भव नरहेको भन्दै साझा प्रयासले मात्रै सामुदायिक वन संरक्षण हुने बताएका हुन् । सामुदायिक वनमा सबैको पहुँच पु¥याउने लक्ष्य अनुसार जिल्लामा काम भईरहेको समेत उनको भनाई थियो ।

वि.सं. २०३० साल श्रावण २५ गते सिन्धुपाल्चोकका तत्कालीन जिल्ला वन प्रमुख तेज बहादुर सिं महतले ठोकर्पा पञ्चायतका प्रधानपञ्च निल प्रसाद भण्डारीलाई राष्ट्रिय वनको केहीभाग जिम्मा लगाई संरक्षण तथा सम्बर्धनको जिम्मादिए पश्चात नै नेपालमा सामुदायीक वनको शुरुवात भएको देखिन्छ । ओखलढुंगामा अहिले ३ सय ४८ वटा सामुदायिक वन रहेका छन् ।

२९ हजार ९ सय ४० हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनबाट जिल्लाका ७८ दशमलब २० प्रतिशत अर्थात ४६ हजार ४ सय ४ घरधुरीका नागरिकहरु लाभान्वित छन् । सामुदायीक वनको पहिचान, राष्ट्रिय सम्बृद्धिको अभियान भन्ने नाराका साथ गतवर्ष पनि अर्थात प्रथम सामुदायीक वन राष्ट्रिय दिवस मनाईएको थियो ।