नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

चितवनको भरतपुर महानगरपालिकामा संयुक्त गठबन्धनकी रेणु दाहाल विजयी

         

चितवन, साउन २२ ।

नेपाली कांग्रेस र नेकपा माओवादीको संयुक्त गठबन्धनबाट उम्मेदवार बनेकी रेणु दाहाल भरतपुर महानगरपालिकाको प्रमुख मेयरमा विजयी भएकी छिन् । उपमेयरमा कांग्रेसकी पार्वती शाह विजयी भएका छिन् । निर्वाचन भएका ५ वटा महानगरमध्ये मेयर र उपमेयर दुबै पदमा महिला निर्वाचित भएको भरतपुर महानगरपालिका मात्रै हो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी छोरी रेणु झन्डै २ दशकदेखि सक्रिय राजनीतिमा छिन् । माओवादी–कांग्रेस गठवन्धनका उम्मेदवार रेणु दाहालले एमालेका उम्मेदवार देवी ज्ञवालीलाई २०३ मत अन्तरले पराजित गरिन् । दाहालले ४३ हजार १२७ मत प्राप्त गरिन् भने ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गरे । यस्तै उपमेयरमा कांग्रेसकी पार्वती शाहले ४७ हजार १९७ मत ल्याएर जित हात पार्दा एमालेकी दिब्य शर्मा आचार्यले ३९ हजार ५२५ मत ल्याइन् ।

मतदान गरेको झण्डै ३ महिनापछि भरतपुर महानगरले नयाँ मेयर र उपमेयर पाएको छ । भरतपुर महानगरपालिकामा पहिलो चरणमा बैशाख ३१ गते निर्वाचन भएको थियो । १९ नम्बर वडाको मतगणनाको क्रममा गत जेठ १४ गते मध्यराति मतपत्र च्यातिएपछि सो वडाका सबै मत बदर गर्दै निर्वाचन आयोगले साउन २० गते पुनः मतदान गराएको थियो ।

कांग्रेसको पकड क्षेत्र मानिएको भरतपुरमा कांग्रेसकै समर्थनमा उम्मेदवार बनेपनि रेणुलाई जीत हासिल गर्न सहज भने भएन । उनी सुरुवाती मतगणनामा पछि परेकी थिइन् । भरतपुरका २९ वडामध्ये २७ वटा वडाको मतगणना सकिँदासम्म रेणु आफ्ना विपक्षी उम्मेदवारभन्दा ७८४ मतले पछि थिइन् । पुन मतदान भएको १९ र वैशाख ३१ गते नै मतदान भएको २० नम्बर वडामा रेणुको पक्षमा राम्रो मत आएपछि उनी विजयी हुने आधार निर्माण भएको हो । २२१ मतको सामान्य अग्रता लिएर वडा नम्बर २० मा प्रवेश गरेका ज्ञवालीको अग्रता १६ सय मत गणना गरेपछि सकिएको थियो ।

मतगणनाको अन्तिम नतिजा सगै भरतपुर महानगरपालिका २९ वटा मध्ये १४ वटा वडा एमालेले जितेको छ । एमाले बहुमत वडा जित्नबाट चुकेको छ । यस्तै, १२ वटा कांग्रेसले र ३ वटा वडा माओवादीले जितेको छ ।