नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

महिलाले अब सुत्केरी विदा ६ महिना पाउने

काठमाडौं, साउन २१ ।
नेपाली महिलाहरुलाई सुत्केरी हुदा ६ महिनासम्म सुत्केरी विदा दिने तयारी सरकारले गरेको छ । सरकारले हाल तीन महिना सुत्केरी विदा दिदै आएको छ । सुत्केरी विदा थप तीन महिना बढाउन स्वास्थ्य मन्त्रालयले प्रजनन स्वास्थ्य विधयेक पारित गरी आवश्यक राय सुझावका लागि कानुन मन्त्रालय पठाइसकेको छ । यो विधयेक पारित भएमा सरकारी कार्यालयमा मात्र नभई निजी संस्थामा कार्यरत महिला कर्मचारीले समेत छ महिना सुत्केरी विदा पाउने छन् ।

‘नेपालमा सुत्केरी विदालाई बढाएर छ महिना पुर्याउनकै लागि हामीले दुई वर्ष अघिदेखि नै काम गर्दै आएका थियौं,’ स्वास्थ्य मन्त्रालयको साझेदार संस्था युनिसेफका पोषण प्रमुख डा. प्रद्युम्न पौडेलले भने, ‘यो विधेयक पारित भएमा अब निजी तथा सरकारी कार्यालयमा कार्यरत सबै महिलाहरुले सुत्केरी विदा बापत छ महिना विदा पाउनेछन् ।’ श्रम नियमावली ०५०मा व्यवस्था भए अनुसार हाल नेपालमा गर्भवती कामकाजी महिला वा महिला कर्मचारीहरुलाई सुत्केरी हुनु अघि वा पछि ९० दिनसम्म पारिश्रमिक सहितको विदा दिइँदै आएको छ । कम्पनी ऐनको दफा ६ को उपदफा ११ ले समेत कानुनमा उल्लेख भए अनुसार सुत्केरी विदा दिने व्यवस्था गरेको छ ।

त्यसबाहेक, प्रजनन् स्वास्थ्य विधेयकमा ९८ दिन र विशेषज्ञको सिफारिसमा थप १ महिनो सुत्केरी विदाको प्रावधान प्रस्ताव गरिएको छ । सार्क राष्ट्रको हकमा बंगलादेशमा यसअघि नै सुत्केरी विदा छ महिना दिइँदै आएको छ । छिमेकी मुलुक भारतले पनि हालै तीन महिने सुत्केरी विदालाई बढाएर छ महिना बनाइसकेके छ । जन्मेको छ महिनासम्म शिशुलाई सहजरुपमा स्तनपान गराउने वातावरण तयार पार्ने उद्देश्यले सरकारले यस वर्षदेखि बालमैत्री अस्पतालको अवधारणा अघि सारेको छ । नेपालमा यसअघि सन् १९९७ सालमै ७ वटा अस्पताल बालमैत्री बनाइएको थियो ।

महिला सांसदहरुले सुत्केरी विदा लिने तर स्तनपान नगराउने आमा र उनको परिवारका सदस्यलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेका छन् । २५ औं ‘विश्व स्तनपान सप्ताह’को अवसरमा स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य महाशाखाले शुक्रबार आयोजना गरेको अन्तरक्रियामा सहभागी सांसद रुकमिणी चौधरीले स्तनपान नगराउने परिवारलाई कानुनी दायरामा ल्याउन माग गरेकि छन् । नेपालका सम्पन्न वर्गमा धाइआमा राख्ने प्रचलन बढीरहेको बताउँदै शिशुको समग्र विकासका लागि पनि धाइआमा राख्ने प्रथा अन्त्य गरी स्तनपान नगराउने आमा तथा परिवारलाई कारवाहीको दायरामा ल्याउनुपर्ने उनको धारणा छ । साथै कानुन संशोधनमार्फत सुत्केरी विदालाई बढाएर छ महिना पुर्याउन समेत माग गरिन् ।

अर्की सांसद निशा कुमारी साहले शहरको तुलनामा ग्रामिण भेगमा स्तनपान गराउनेको संख्या धेरै भएको बताउँदै शहरी क्षेत्रमा स्तनपानलाई अझ प्रभावकारी बनाउन सुत्केरी विदा सम्बन्धी ऐनमा पुनरावलोकन जरुरी भएको बताइन् । हाल सरकारले सुत्केरी विदा तीन महिना दिँदै आएको छ । कार्यक्रममा सांसद सिन्धुजलेसा बुढाथोकीले नेपालमा दुई भन्दा बढी बच्चा जन्माउनेले सुत्केरी विदा नपाउने कानुन रहेको भन्दै त्यसलाई संशोधन गर्न माग गरिन् ।

कार्यक्रममा बोल्नेहरुले दुई भन्दा बढी बच्चा हुनेको हकमा समेत सुत्केरी विदा दिने व्यवस्थाबारे पुनरावलोकन गर्न र आमाको दूध सेवन गर्न पाउनु शिशुको नैसर्गिक अधिकार भएकेले यसको व्यवस्थापनका लागि राज्य जिम्मेवार हुनुपर्ने बताए । सुत्केरी विदालाई बढाएर छ महिना बनाउनु सकारात्मक विषय भएको भन्दै विदा लिएर पनि स्तनपान नगराउने अवस्था भएकाले त्यस्ता क्रियाकलापलाई कानुनी दायरामा ल्याउन आवश्यक छ रहेको कुरामा पनि उनिहरुले जोड दिए ।