नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

सर्लाहीका जिशिअ ६ लाख ९५ हजार रुपैयाँसहित पक्राउ

चितवन, साउन १४ ।

सर्लाहीका जिल्ला शिक्षा अधिकारी होमनाथ सुवेदी अवैध ६ लाख ९५ हजार रुपैयाँसहित चितवनको लोथरबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्लाही कार्यालयको सूचनाको आधारमा सुवेदीलाई पक्राउ गरिएको हो ।

भरतपुर महानगरपालिका स्थित मालपोत चोकनजिक रहेको घर आउँदै गर्दा मकवानपुर र चितवनको सीमा क्षेत्र लोथरमा सुवेदीलाई प्रहरीले पक्राउ गरेको हो । शुक्रबार पक्राउ परेका सुवेदीको साथमा ६ लाख ९५ हजार रुपैयाँ फेला परेकाले मुचुल्का गरेर सुवेदीलाई सर्लाही पठाइएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए।

भारतीय गाडी चढेर आएका सुवेदीले गाडीको सिटमुनि लुकाएको अवस्थामा उक्त रकम फेला परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौडाका प्रहरी निरीक्षक विनीमाधव पौडेलले जानकारी दिए । सुवेदीको साथमा फेला परेको नगद वारेमा आईतवारवाट थप अनुसन्धान हुने पनि उनले जानकारी दिए ।