नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

नेपाल एयरलाईन्सको अनलाइन टिकट बुकिङ सुरु

काठमाण्डौ, साउन २ ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (एनएसी)ले हिजो आइतबारबाट अनलाइन टिकट बुकिङ सुरु गरेको छ । अब एनएसीको टिकट लिन ट्राभल एजेन्सी र निगमकै कार्यालयमा धाउनुपर्ने बाध्यता हटेको छ । अनलाइन टिकट बुकिङ सिस्टम सुरु भएसँगै वायु सेवा निगमले सेवा प्रवाहमा नयाँ फड्को मारेको निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले बताएका छन्।

अब डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनबाटै टिकट बुक गर्न सकिनेछ । त्यस्तो बुक गरिएको टिकट मोबाइलमा नोटिफिकेशनसहित इमेल आउनेछ । जसलाई प्रिन्ट गरेर यात्रामा जाँदा प्रयोग गर्न सकिने श्रेष्ठले बताए ।

‘तत्कालका लागि विदेशी मुद्रा सञ्चित गरेका डेबिट वा क्रेडिट कार्ड होल्डरले मात्रै अनलाइन बुकिङ गर्न सक्छन्’ श्रेष्ठले भने,’एक हप्तापछि नेपाली रकम जम्मा गर्ने डेबिट वा क्रेडिक कार्डबाहकले पनि यो सुविधा पाउनेछन् ।’

यो अनलाइन टिकटको बुकिङ सिस्टम बनाउन र व्यवस्थापन गर्न दुई विदेशी कम्पनीले जिम्मा पाएका थिए । नेपाल एयरलाइन्सको तीन वर्षे सुधार कार्ययोजना अन्तरगत यो योजनालाई पनि समावेश गरेको थियो । सफ्टवेयर बनाउन एक भारतीय र पेमेन्ट गेटवेका लागी थाइ कम्पनीलाई जिम्मा दिर्इएको थियो ।

यो सेवा सुरु भएपछि एनएसीका बिमानको टिकट घर वा अफिसमै बसेर अनलाइनमार्फत ग्राहकले सीधै बुक गर्न सकिने भएको छ । अहिलेसम्म धेरै एयरलाइन्स कम्पनीले इ(टिकेटिङ सिष्टम लागू गरिसके पनि एनएसीले परम्परागत रुपमै टिकट बिक्री गर्दै आइरहेको थियो ।

एनएसीलाई प्रतिस्पर्धी बनाउनका लागि पनि अनलाइन टिकेटिङ सिष्टमले सहयोग गर्ने अपेक्षा गरिएको छ ।