के नगरपालिकाले भवन निर्माण अाचार संहिता पालना गर्नु पर्दैन ?
विएन श्रेष्ठ, ओखलढुङ्गा, श्रावण १ ।
के सिद्धिचरण नगपालिकाले चाही भूकम्प प्रतिरोधी भवन निर्माण आचारसंहिताको पालना गर्नु पर्दैन ? नगरपालिका अन्तर्गतका एक नागरिकले नाम उल्लेख नगरी लेखेर प्रश्न गरे । सिद्धिचरण नगर कार्यपालिकाले शनिवार आयोजना गरेको आर्थिक वर्ष ०७३/७४ को वार्षिक कार्यक्रमको बारेमा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय सजग नागरिकहरुले यस्तो प्रश्न गरेका हुन् ।
प्रश्न पछि पसिना काढ्दै नगरपालिकाका ईञ्जिनियर दिव्य श्रेष्ठले भने “प्रश्नका लागि र भूकम्प प्रतिरोधी भनव निर्माणका लागि सजग हुनुभएकोमा प्रश्नकर्तालाई धन्यवाद । भवन निर्माणमा केही कमजोरी त भएको होला, तर पुरै आचार संहिता विपरित चाही छैन ।” ईञ्जिनियर श्रेष्ठले आचार संहिता विपरित भवन निर्माण भएको भन्ने प्रश्नलाई घुमाउरो भाषामा स्वीकार्दै भने, “यो भवन लाईट भवन र एकतले मात्रै हो । त्यसैले खासै फरक पर्दैन ।”
केही महिना अघिवाट नगरपालिकाको कार्यालय अगाडी नगरपालिकाका कर्मचारीको प्रत्यक्ष निगरानीमा नै भवन निर्माण कार्य भैरहेको छ । भवन निर्माण कार्य सम्पन्न हुने चरणमा छ । ट्रान्सपरेन्सी ईन्टरनेशन नेपाल ओखलढुङ्गाले गत जेठ २१ गते आयोजना गरको अन्तरक्रिया कार्यक्रम वाट निष्कने क्रममा जिल्ला वरिष्ठ एकजना ईञ्जिनियरले नियम विपरित भवनको पिलर र तला ढलान भएको बताएका थिए । तत्काल नै नगरपालिकाका कार्यकारी अधिकृत रोशनीदेवी कार्कीले ईञ्जिनियर श्रेष्ठलाई डाकेर सुधार गर्न सकिने कुरालाई तत्काल सुधार गर्न निर्देशन दिएकी थिइन् ।
तर सार्वजनिक सुनुवाई कार्यक्रममा यो विषयमा ईञ्जिनियर श्रेष्ठले केही बोलेनन् । कार्यकारी अधिकृत कार्की कार्य व्यस्तताका कारण नगरपालिका भन्दा बाहिर थिईन् । नगरपालिकाका मेयर मोहन कुमार श्रेष्ठले भने यो विषयमा आफुलाई केही थाहा नभएको र आगामी नगरपरिषदमा यो विषय लैजाने बताए ।

नगरपालिकाकाे अगाडी निर्माणाधिन भवन । जुन भवनवारे नागरिकहरुले प्रश्न उठाएका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रम नगरपालिकाले चालु आर्थिक वर्ष ०७३/७४ मा सञ्चालन गरेको कार्यक्रमको विषयमा भनिए पनि अधिकांश उपस्थित नागरिकहरुले भूकम्प पछिको आवास निर्माण र घरको नक्शा डिजाईनको विषयमा केन्द्रित भएका थिए ।
नगरपालिकाका नवनिर्वाचित मेयर श्रेष्ठले सार्वजनिक सुनुवाईमा उठेको प्रश्नलाई जवाफदेही वक्ताको रुपमा जवाफदिदै भने, “नवनिर्वाचित जनप्रतिनिधी जादुको छडी हैन, कि एक हप्तामा नै छुमन्तर गरेर विकास निर्माणले नगरपालिका हराभरा होस । नागरिकहरुले साथ नदिएमा जनप्रतिनिधीहरुले मात्रै केही गर्न सक्दैनन् । समस्याको समाधानका लागि नागरिकहरु नै महान् हुन् । सबैले सगसगै हातेमालो गरेर अगाडी बढौं । असम्भव भन्ने कुरा केही हुन्न ।”
नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रम औपचारिकता पुरा गरेझै मात्र भान हुन्थ्यो । नगरपालिकाको कार्यक्रममा अन्य नागरिकहरु भन्दा हटियामा आएका नागरिकहरु मात्रै सहभागी देखिन्थे । टाढाका नागरिकहरु भने नगरपालिकाले आफुहरुलाई सूचना नगरी सार्वजनिक सुनुवाई कार्यक्रमलाई कागजी रुपमा मात्र सकाउन खोजेको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका पाईन्थे । ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपाल ओखलढुङ्गाका भलामान विकले सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण गरेका थिए ।