रामेछापको खिम्तीमा भिषण बाढि, एकको मृत्यु, छ घाईते चार वेपत्ता
रामेछाप खिम्ती, श्रावण १ ।
रामेछापको लिखु गाउँपालिका ७ खिम्तीमा शनिबार राति आएको बाढीले बगाएर १ जनाको ज्यान गएको छ भने ४ जना वेपत्ता भएका छन् । बाढीबाट ६ जना घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय ७५ वर्षीया बालकुमारी खत्री रहेकी छन् । उद्धार गरिएका घाईतेहरुको नजिकैको स्वास्थ्य संस्थामा उपचार भै रहेको छ । घाइतेका उद्धारका साथै थप उपचारका लागि काठमाण्डौ लैजान हेलिकप्टर मगाइएको छ ।
बाढीले खिम्तीबाट फर्पुतर्फ जाने सडकमा पर्ने छत्तिवने खोलाको पुल बगाएको छ । पुल नजिकका २ घर समेत बगेका छन् । ती घरमा कति जना थिए त्यसको एकिन अझै भइसकेको छैन । शनिबार दिउँसो देखि खिम्ती क्षेत्रमा अविरल वर्षा भएको थियो । राति १० बजेपछि खहरे र छतिवनेमा बाढी बढेको थियो ।
बाढीले बगाएको क्षेत्रमा खाजा खाने होटललगायत घरहरु पनि रहेकाले र केही बेपत्तासमेत भएकाले घटनामा ठूलो क्षति भएको हुनसक्ने अनुमान गरिएको छ ।घटनाको खबर पाएलगत्तै उद्धारका लागि इलाका प्रहरी कार्यालय खिम्तीको टोली पुगेको छ । घटना भएको क्षेत्र सदरमुकाम मन्थलीबाट करिब ११ किलोमिटरको दूरीमा छ ।
स्थानीयवासीका अनुसार खिम्ती बजारमा रहेका खहरेपुलको उत्तरतर्फको गल्छीबाट बजार क्षेत्रमा बाढी पसेकाले बजारका अरुथप घरमा क्षति पुगेको छ ।बजारमा पार्किङ गरेका सवारी साधनमा पनि बाढीले क्षति पुर्याएको छ । खहरेपुल निर्माणाधिन अवस्थामा भएकाले डाइभर्सन सडक भएको स्थानबाट खोलो बजार पसेको थियो ।
खिम्तीमा बाढीग्रस्त क्षेत्रमा उद्धारका लागि राति पुग्ने प्रयास गरे पनि बाटोका कारण अझै प्रहरी त्यहाँ पुग्न सकेको थिएन । अहिले प्रहरी नायव उपरीक्षक कुमोध ढुंगेलसहितको टोली घटनास्थल खिम्तीतर्फ गएको छ ।
प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले प्रारम्भिक सूचनाका आधारमा जिल्ला सदरमुकामबाट तीनै सुरक्षा निकायबाट उद्धार कार्यका लागि सुरक्षाकर्मी परिचालन गरिएको बताएका छन् । उनले घटनास्थलमा पुग्ननै कठिनाइ भएको बताएका छन् । घटनास्थलमा पुगेपछि उद्धार र राहतको कामलाई तीव्रता दिने उनले बताए ।
खिम्ती र फर्पु क्षेत्र जिल्लाका बाढी प्रभावित उच्च जोखिममा पर्ने क्षेत्र हुन् । खिम्तीमा चार वर्षअघि बाढीले ८ जनाको ज्यान लिएको थियो भने सडक पुलजस्ता पूर्वाधार बगाएको थियो ।
बाढीले सवारी तर्ने पुल बगाएपछि उत्तरी रामेछाप, ओखलढुंगा, सोलु र जिरीसँगको सडक सम्बन्ध विच्छेद भएको छ ।