नेपाली समय Loading...२०८१ चैत्र २९ शुक्रबार

स्क्रब टाईफसको समस्या यो वर्ष पनि नेपालमा फैलियो

काठमाडौं, असार २६ ।
पछिल्लोपटक नेपालमासमेत प्रमाणित भएको रोग स्क्रब टाइफस यो वर्ष पनि फैलिन सुरु भएको छ। बढी मात्रामा खेतबारीको काम गर्ने मौसम सुरुसँगै झाडीमा पाइने मसिनो किर्नाजस्तो (माइट) को टोकाइबाट सर्ने यो रोगका बिरामी अहिले पनि भेटिन थालेका छन्।

गत वर्ष ८ सय ३१ जनामा यो रोग प्रमाणित भएको थियो । तीमध्ये १४ को ज्यान गएको थियो। यो वर्ष काठमाडौंमा  १, चितवन र धनगढीमा २।२ जनामा यो रोगको संक्रमण देखिएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यो वर्ष काठमाडौंमा १, चितवन र धनगढीमा २ । २ जनामा यो संक्रमण देखिएको छ। विगतका वर्ष्कलाई हेर्दा यही समयमा बढी बिरामी भेटिने गरेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. गुणनिधि शर्माले भने।

गत वर्ष ४६ जिल्लामा यो रोगका बिरामी देखापरेकोमा ८ सय ३१ जनामा प्रमाणित भएको थियो। तीमध्ये १४ जनाको ज्यान गएको थियो। त्यसभन्दा अघिल्लो वर्ष १६ जिल्लामा १ सय १ जनामा स्क्रब टाइफस भेटिँदा ८ जनाको ज्यान गएको थियो।

विश्वमा धेरै पुरानो रोगका रुपमा चिनिने स्क्रब टाइफस नेपालमा भने सन् २०१५ देखि महामारीको रुपमा देखिएको छ। सन् २००४ मा नेपालमा यो रोगको जिवाणु भेटिए पनि धरानमा सन् २०१५ मा एकैपटक ८ जनाको ज्यान गएपछि यो जानकारीमा आएको चिकित्सक बताउँछन् । सन् २०१५ मा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा यो रोग प्रमाणित भएको थियो।

चितवन जिल्ला जनस्वास्थ्य प्रमुख विजय झाले चितवनमा मात्रै गत साउनयता ५ सय ४ जना स्क्रब टाइफसका प्रमाणित बिरामी भेटिएको जानकारी दिए । पछिल्लोपटक दुई बिरामी भेटिएका छन् । झाले भने, हामीले यो रोगबाट बच्न उपायबारे सूचना प्रसारण गराइरहेका छौं । उनले अस्पतालमा कडा ज्वरोका बिरामी आए स्क्रब टाइफस परीक्षणका लागि चिकित्सकलाई पनि आग्रह गरिएको बताए।

चिकित्सकका अनुसार धेरै कारणले कडा ज्वरो आउने भएकाले धेरै बिरामी रोग पहिचान हुन ढिलाइले गम्भीर अवस्थामा पुग्ने गरेका छन्। झाडीमा काम गरेपछि ज्वरो आएमा स्क्रब टाइफसको जाँच अत्यावश्यकीय हुन्छ। दोस्रो विश्वयुद्धताका यो रोग सबैभन्दा बढी सैनिकमा भेटिएको थियो। भुइँमा पल्टिएर पनि एक ठाउँबाट अर्को ठाउँमा जानुपर्ने भएकाले सैनिकमा यो रोगको संक्रमण बढी भेटिएको थियो ।

जीवाणु रिकेटसया सुसुगामुसीु ले संक्रमित सूक्ष्म किरा (माइट)को टोकाइबाट स्क्रब टाइफस सर्छ। यो किरा खेत, खेलकुद मैदान, रुख, झाडी, घाँस हुने ठाउँमा रहने मुसा प्रजातिको जनावरमा पाइन्छ। झाडीमा पाइने किर्नाजस्तो देखिने माइट मुसाको कान नजिकैको भागमा खानाको रुपमा पाइने प्रोटिन चुसेर बाँच्छ । माइटले टोकेपछि मुसालाई समेत ज्वरो आउँछ। एकपटक संक्रमित भएको माइटको २४ पुस्तासम्मसमेत यो सर्दै जाने र त्यसले सार्न सक्ने हुनाले अधिकांश माइट संक्रमित हुने भनाइ चिकित्सकको छ।

समयमै पहिचान र उपचार नहुदा स्क्रब टाइफसका कारण मृत्यु हुने र जटिल अवस्थासम्म पुग्ने डा. शर्मा बताउँछन् । डा. शर्माका अनुसार यसको औषधि सरकारी स्वास्थ्य चौकीमा निःशुल्क र बाहिर किन्नुपर्दा ३० रुपैयाँमा पाइन्छ। औषधिले ४८ घन्टाभित्रै ज्वरो घटाउने शर्मा बताउँछन्।

चिकित्सकका अनुसार कृषि काम गर्दा, झाडीमा जाँदा वा केही नबिछ्याई झाडीमा सुतेको अवस्थामा माइटले टोक्दा यो रोग सर्छ। यो रोगबाट बच्न जुत्ता र शरीर छोप्ने लुगा नलगाई झाडीमा नजान, चौरमा केही नओछ्याई नसुत्न चिकित्सक सुझाउँछन्।

माइटले टोकेको केही दिनपछि उच्च ज्वरो आउने, आँखा रातो हुने, जिउ दुख्ने, जोर्नी दुख्ने, शरीर गल्ने, विस्तारै श्वासप्रश्वासमा अप्ठेरो हुने लक्षण देखिन्छ । केहीमा पखाला लाग्ने र फियो सुन्निने समस्यासमेत देखापर्छ । धेरै दिनसम्म ज्वरो आउँदा पनि सही उपचार सुरु नगरे यसले जटिल रुप लिन्छ।

समयमा उपचार नभए स्क्रब टाइफसले सुन्ने क्षमता गुम्ने, रक्तचाप घट्ने, मृगौला फेल हुने, निमोनिया जस्ता सेकेन्डरी व्याक्टेरियल संक्रमण गराउँने, बेहोस हुने, अन्यौल, सुस्तजस्ता जटिलता देखिन्छन् । समयमै उपचार नभए यसले मस्तिष्क, कलेजो, फोक्सोमा थुप्रै प्रकारको संक्रमण हुन्छ। चिकित्सकका अनुसार कडा ज्वरो आएमा तत्काल स्वास्थ्य संस्था गएर जाँच गराउर्नुपर्ने डा. शर्मा बताउँछन् ।