नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा सेना परिचालन हुने

ओखलढुङ्गा, असार ११ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले असार १४ गते हुने स्थानीय तह निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान गर्नु भएको छ । स्थानीय निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सेना परिचालनका लागि स्वीकृति प्रदान गर्नेु भएको हो ।

स्थानीय तह निर्वाचन सुरक्षा योजना, २०७३ मा व्यवस्था भए अनुसार सुरक्षा निकायहरु एकीकृत तथा समन्वयात्मक रुपमा परिचालन गर्न नेपाली सेना परिचालनको लागि राष्ट्रिय सुरक्षा परिषद्ले गएको असार ७ गते सरकारसमक्ष सिफारिस गरेको थियो ।

त्यस्तै मन्त्रिपरिषदको असार ८ गतेको बैठकले निर्णय गरेको थियो । राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षा परिषदको सिफारिस र मन्त्रिपरिषदको निर्णय सहित असार ८ गते सेना परिचालनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेपछि राष्ट्रपतिले नेपालको संविधानको धारा ६६ को उपधारा ९२० बमोजिम स्वीकृति प्रदान गर्नु भएको हो ।

अब स्थानीय तहको दोश्रो चरणको निर्वाचनको सुरक्षालाई मध्य नजर गर्दै आवश्यकता अनुसार सेनाको परिचालन हुनेछ । स्थानीय तहको निर्वाचनमा नेपाली सेना बाहिरी घेरामा रहेर सुरक्षा प्रदान गर्नेछ । मतदान हुने स्थलको पहिलो घेरामा म्यादी प्रहरी र नेपाल प्रहरी रहनेछन् । त्यस्तै दोश्रो घेरामा सशस्त्र प्रहरी र तेश्रो घेरामा मात्र नेपाली सेना रहने छन् । राष्ट्रपतीको यो स्वीकृती सगै स्थानीय तहको निर्वाचनमा सेनाको परिचालन हुने कि नहुने भन्ने दुबिधा हटेको छ ।