वैशाखी टेकेर वडा अध्यक्षपदमा भाेटमाग्दै नवराज
अाेखलढुङ्गा, असार ७ ।
स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा ओखलढुङ्गामा दुईओटा वैशाखी टेकेर हिड्ने अपाङ्ग व्यक्ति पनि उमेदवार बनेका छन् । ती अपाङ्ग व्यक्ति हुन सुनकोशी गाँउपालिका वडा नं. ३ का वडा अध्यक्ष पदका उमेदवार नवराज खड्का ।
खड्काले नेकपा माओवादी केन्द्रका तर्फवाट वडा अध्यक्ष पदमा उमेदवारी दिएका छन् । अझै पनि समाजमा अपाङ्गलाई सकारात्मक दृष्टिकोणले कमैले मात्रै हेर्छन् । अपाङ्ग भएका ब्यक्तिहरुले केही पनि गर्न सक्दैनन भन्ने मानसिकता अझै पनि समाजमा व्याप्त छ । त्यो गलत मानसिकतालाई उनले तत्कालिन सिस्नेरी गाविसको कालिका मावि सिस्नेरीको अध्यक्ष भएर तोडिसकेका छन् । उनले अपाङ्ग व्यक्तिले पनि अबसर पायो भने राम्रो काम गर्न सक्छ भन्ने छाप स्थापित गरि सकेका छन् । त्यसैले आगामी दिनहरुमा गाँउपालिकाको वडा अध्यक्ष पदमा चुनिएर नै नागरिकको हितमा थप काम गर्ने प्रण गर्दै आफुले उमेदवारी दिएको बताएका छन् ।

घरदैलाे अभियानमा साथिहरुका साथ नवराज खड्का
खड्का विगत केही वर्ष देखी जिल्लाको रमाईलो सामुदायीक रेडियोमा कार्यरत थिए । उनी नेपाल पत्रकार महासंघ जिल्ला शाखा ओखलढुङ्गाका साधारण सदस्य समेत हुन् । उनको एउटा खुट्टा सुकेको छ । जन्मदा नै उनी अपाङ्गता लिएर जन्मेका थिए । उनी बैशाखीको सहयताले हिडहुल गर्छन भने सपाङ्गे गर्ने जस्तै हरेक कामहरु उनी गर्न सक्छन् ।
नेपाल सरकारवाट देशको संघिय संरचना अनुसार घोषित स्थानीय तहलाई शक्ति सम्पन्न बनाई संविधान कार्यन्वयनका लागि आफु पनि एक इटा बन्न उम्मेदवारी दिएको उनको भनाइ छ । आफूले गाउँपालिकामा युवाहरुलाई वैदेशिक रोजगारीका निम्ति विदेश नजान प्रोत्साहन गर्नका लागि स्वरोजगारका लागि कृषिमा आधुनिकीकरणमा जोड दिने, खानी उत्खनन् गर्नका लागी पहल गर्ने पर्यटन बिकास, जडीबुटी खोज तथा प्रशोधनका लागि पहल गर्ने जस्ता एजेण्डा लिएर मैदानमा होमिएको उमेदवार खड्काले बताएका छन् । खड्का अपाङ्ग भएपछि केही गर्न सकिन्न भन्ने र सपाङ्ग भएर पनि केही गर्न सकिन भन्नेहरुका लागी उदाहरणीय व्यक्ति हुन् ।