तिङ्लाबासीको ‘नो भोट’ अभियान सफल
सोलुखुम्बु, असार ७ ।
तिङ्ला गाँउको स्थानीय नागरिकको ‘नो भोट’ अभियान सफल भएको छ । सोलुखुम्बु जिल्लाको नेचासल्यान गाँउपालिका वडा नं. ६ मा यो तिङ्ला गाँउ पर्दछ ।
स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा नेचासल्यान गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने तिङ्वाबाट कोही पनि उम्मेदवार छैनन् । नेपाली कांग्रेसका टङ्क कार्कीले वारेसनामाबाट दिएको उम्मेदवारी खारेज भएको छ । यो सँगै दुई जनाको स्वतन्त्र उम्मेदवारी पनि फिर्ता भएको छ ।
यस गाँउपालिकाको वडा अध्यक्ष तथा सदस्यमा उमेदवारी मनोनयन दर्ता गरेका ज्ञानबहादुर राई र हर्कबहादुर विश्वकर्माले उम्मेदवारी फिर्ता लिएका छन् । उमेदवारी फिर्ता लिएपछि वडा नम्बर ६ जनप्रतिनिधिविहीन बन्ने भएको निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिनुभयो ।
तिङ्लावासीले आफूहरुको भावना विपरीत नेचा सल्यान गाउँपालिकामा समाहित गरेकोप्रति असन्तुष्टी जनाउँदै निर्वाचनमा भाग नलिने अडान राख्दै आएका थिए । तर, नेपाली कांग्रेसका सांसद बलबहादुर केसीले टङ्क कार्कीलाई उम्मेदवार बनाउनेप्रयास गरेका थिए । तर त्यो प्रयासलाई तिङ्लावासीले बिच बाटोमा नै रोकेका थिए ।
केसीले वारेसनामामार्फत भएपनि कार्कीको उम्मेदवारी दर्ता गराए । त्यस लगतै स्वतन्त्र उम्मेदवारी परेको थियो । कार्कीको उम्मेदवारी रद्द भएपछि अन्य स्वतन्त्रबाट मनोनयन दर्ता गरेकाले पनि आन्दोलनलाई सहयोग गर्ने भन्दै उमेदवारी फिर्ता लिएका छन् ।
आफूहरुको माग पूरा नभएसम्म निर्वाचनमा भाग नलिने अडान राख्दै आएका तिङ्लावासीले निर्वाचनको अन्तिम घडीमा पनि अडान कायम राखेका छन् । यो चुनावमा भाग नलिने यो सम्भवत नेपालमै पहिलो वडा हो । अहिले सम्म नेपालका कुनै पनि स्थानहरुका नागरिकहरुले सामुहिक रुपमा नै चुनावमा भाग नलिएकाे घटना सार्वजनिक भएकाे छैन ।