नेपाली समय Loading...२०८१ चैत्र ३१ आईतवार

मानवअधिकार वर्ष पुस्तकको अर्धवार्षिक समिक्षा सम्पन्न

ओखलढुंगा, जेठ ६ गते ।
ओखलढुंगामा नेपाल मानवअधिकार वर्ष पुस्तक २०१८को अर्धवार्षिक पूर्व समिक्षा कार्यक्रम मंगलवार सम्पन्न भएको छ । इन्सेकको आयोजनामा भएको समिक्षा कार्यक्रममा सहभागीहरुले गाउँमा सार्वजनिक हुन नसकेका घटनाहरु खोजेर सार्वजनिक गर्न सुझाव दिएका छन् ।

नेपाल बार एसोसिएसनका सचिव टुकराज निरौलाले मानवअधिकारका घटना अभिलेख गर्नु चुनौतिपूर्ण भए पनि इन्सेकको प्रयास सह्रानिय भएको बताए । उनले कतिपय घटना बार एसोएसनमा रहेको कानुनी सहायता समितिबाट समेत समाधान भएको जानकारी दिए ।

सहास नेपालका टंक गौललतले उजुरी गर्न नसक्ने पीडितहरुका लागि इन्सेकले थप सहजीकरण गर्न सुझाव दिए । महिला तथा बालबालिका कार्यालय ओखलढुंगाका सरिता तामांगले समान्य समस्याहरु महिला तथा बालबालिका कार्यालयमा आउँदा सहयोग गर्ने गरेको बताइन् ।

महिला तथा बालबालिका सेलका दशरथ चौधरीले पीडितका कतिपय समस्या कानुनी उपचारबाट मात्र समाधान गर्दा पीडित झन् पीडित हुने र कतिपय पीडितहरु नै कानुनी उपचारमा जान अस्वीकार गर्ने हुँदा समस्या आउने गरेको बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालले मौलिक अधिकारहरु मानवअधिकारभित्र पर्ने भए पनि मानवअधिकारका सबै विषय मौलिक अधिकार नहुने र बुझाइमा फरक पन हुने बताए । मानवअधिकार हनन् तथा उलंघनका घटना उजुरी नआएका पनि खोजेर बाहिर ल्याउन थप प्रयास गर्न सुझाव दिए । उनले इन्सेकको प्रयास सह्रानीय रहेको पनि बताए ।

सन् २०१७ को सुरुवाती पाँच महिनाको अवधिमा ओखलढुंगामा एक हत्या, एक बलात्कार, दुई बलात्कार प्रयास र ८ घरेलुहिंसाका घटना भएको इन्सेकमा अभिलेख भएको छ ।