ओखलढुङ्गामा उमेदवार मनोनयनको काम शान्तिपूर्ण रुपमा सम्पन्न
ओखलढुङ्गा, असार ४ ।
ओखलढुङ्गामा असार १४ गते हुने स्थानीय तहको दोश्रो चरणको निर्वाचनका लागि मनोनयनको कार्यक्रम सम्पन्न गरेको छ । निर्वाचन आयोगले विहान ८ बजे देखि दिउसो ४ बजे सम्म मनोनयनका लागि समय तोकेको थियो । निर्वाचनका लागि उमेद्वार मनोनयनको समय तालिका अनुसार जिल्लाका विभिन्न गाँउपालिकामा मनोनयनको काम भएपनि जिल्ला सदरमुकाममा भने दिउसो ११ बजे मात्र सुरुभएको थियो ।
मनाेनयन दर्ताका लागि राजनितिक दलहरु विभिन्न बाजागाजा सहित नाराजुलुस गर्दै मनाेनयन दर्ता स्थल अाइपुगेका थिए । जिल्लाको एकमात्र नगरपालिकामा मनोनयनको काम ढिलाई हुदा अन्तिम समय ४ बजे तोकिए पनि बेलुकी ८ बजे सम्म उमेदवारी मनोनयनको लागि उमेदवारहरु चहलपहल गरिरहेका थिए । रातको ९ बजेसम्म पनि मुख्य निर्वाचन अधिकारीको कार्यालयमा र जिल्ला निर्वाचन कार्यालयले पनि गाउपालिकाको अध्यक्ष तथा उपाध्यक्ष पदका उमेदवारहरुको तथ्यांक अपडेट गर्न सकेको थिएन ।
उमेदवारहरुले आफ्नो मनोनयन पत्र नभरीकन निर्वाचन कार्यालयमा पुगेको र मनोनयन पत्र दर्ता गर्ने ठाउमा नै फारमहरु भर्दा समय अपुग भएको कार्यालयले जनाएको छ । समय दिउसो ४ बजे सम्म उल्लेख गरेपनि मनोनयन पत्र दर्ताका लागि निर्वाचन कार्यालयमा ४ बजे भित्र पुगिसकेकाहरुलाई आवश्यक समय लिएर मनोनयन पत्र दर्ता गर्न दिने पनि कार्यालयले जनाएको थियो ।
पछिल्लो जानकारी अनुसार सिद्धिचरण नगरपालिकामा कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, राप्रपा,सङ्घिय समाजवादी फाेरम, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक गरि सात दलले मेयर तथा उपमेयर पदमा उमेदवारी दर्ता गराएका छन् ।
त्यस्तै लिखु गाउपालिकाको अध्यक्ष पदमा प्रमुख पार्टीहरु कांग्रेस, माओवादी केन्द्र, एमालेले र वैद्य माओवादीको तर्फवाट रामचन्द्र पौडेलले उमेदवारी मनोनयन दर्ता गरेका छन् । अध्यक्ष पदमा दावी नगरेपनि उपाध्यक्ष पदमा भने राप्रपाले पनि उमेद्वारी दिएको छ । यसमका मान बहादुर थापाले राप्रपावाट उपाध्यक्ष पदमा उमेदवारी दिएका हुन् ।
मोलुङ गाउपालिकाको प्रमुख अध्यक्ष पदमा भने ६ जनाले उमेदवारी दिएका छन् । माओवादी केन्द्र, एमाले, कांग्रेस, वैद्य नेतृत्वको माओवादी र दुई जनाले स्वतन्त्र रुपमा उमेदवारी दिएका छन् । वैद्य नेतृत्वको माओवादीको तर्फवाट रुद्र फुयालले उमेदवारी दर्ता गराएका छन् भने स्वतन्त्रमा सरला धमला र केदार दाहालले पनि प्रमुख अध्यक्ष पदमा उमेदवारी दिएका छन् । उपप्रमुखमा भने माओवादी केन्द्र, एमाले, कांग्रेस सगै नेकपा मालेका गुरु दाहाल गरी चार जनाको उमेदवारी परेको छ ।
उता मानेभञ्ज्याङ्ग गाउपालिकामा पनि स्वतन्त्र एक सहित पाँच जनाले अध्यक्ष पदमा उमेद्वारी दिएका छन् । त्यहा एमाले, माओवादी केन्द्र, कांग्रेस, संघिय समाजवादी फोरम र एक जना स्वतन्त्रको उमेद्वारी परेको हो । मानेभञ्ज्याङ्ग गाउपालिकाको प्रमुख पदमा संघिय समाजवादी फोरमले महिला उमेदवार श्याममाया राईलाई उठाएको छ भने स्वतन्त्र उमेद्वारी दिनेमा पर्वलाल तामाङ रहेका छन् । उपाध्यक्षको पदमा भने चारदलको मात्रै उमेदवारी परेको छ ।
मानेभञ्ज्याङ्ग गाउपालिकावाट नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका जिल्ला अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले अध्यक्ष पदमा उमेदवारी दिने चर्चा चले पनि उनले उमेदवारी दिएनन् । गाँउपालिकाको अध्यक्ष पदको दावी गरिरहेका संघिय समाजवादी फोरमका दिपेन्द्र रुम्दालीले भने उपाध्यक्ष पदमा उमेदवारी दिएका छन् । दिपेन्द्र रुम्दाली नेपाल पत्रकार महासंघ ओखलढुङ्गा शाखाका अध्यक्ष समेत हुन् ।
खिजिदेम्वा गाउपालिकामा पनि ६ जनाले गाँउपालिका अध्यक्ष पदमा उमेदवारी दिएका छन् । माओवादी, एमाले, कांग्रेस, राप्रपा, नयाँ शक्ति र वैद्य माओवादीकी पेमडोमा शेर्पाले अध्यक्ष पदमा उमेदवारी दिएका छन् । खिजिदेम्वामा राप्रपा बाहेक पाँच ओटै दलहरुले उपाध्यक्ष पदमा उमेद्वारी दर्ता गरेका छन् ।