नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

निर्वाचन बिरोधी गतिबिधि बढ्न थालेपछि सप्तरीमा सेनाले गस्ती थाल्यो

राजविराज, असार १ ।
प्रदेश नं. १ र २ अन्तर्गतका तराईका विभिन्न जिल्लाहरुमा राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुको निर्वाचनविरोधी गतिविधि बढ्न थालेपछि नेपाली सेनाले आफ्नो उपस्थिति बढाउन थालेको छ । सप्तरी सदरमुकाम राजविराजमा राजपाले बुधबार सहायक मतदान अधिकृतहरुको तालिम बिथोलेपछि सो स्थानमा नेपाली सेनाको टोली पुगेको थियो। नेपाल सरकारले स्थानिय तहको निर्वाचनमा निर्वाचन सुरक्षाका लागि नेपाली सेना पनि आवश्यकता अनुसार खटाउन सकिने निर्णय भने गरिसकेको छ । स्थानीय प्रशासनले नेपाली सेना खटाएकोबारे औपचारिक रुपमा केही बताएको छैन ।

राजविराजमा खटिएका सेनाले स्थानीय सञ्चारकर्मीहरुलाई फोटो खिच्न रोक लगाएको छ । राजपा कार्यकर्ताहरुले निर्वाचन तालिमका लागि राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा रहेको तालिम स्थल जाँदै गरेको सहायक मतदान अधिकृतहरुलाई जबर्जस्ती नियन्त्रणमा लिँदै घेराहाली क्याम्पसको मुलगेटमा आफूसँगै धर्नाका बसाएका थिए । सो क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थितिका बीच झण्डै ५० को संख्यामा नेपाली सेनाको टोली पुगेको थियो ।

नेपाली सेनाको फोटो खिच्ने क्रममा सेनाले फोटो नखिच्न भनेका थिए । १० मिनेटसम्म नेपाली सेनाको उक्त टोली निर्वाचन तालिम स्थल महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसको उत्तरी भागमा रहेर फर्केको थियो ।