नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

छोराछोरीको तलबको १० प्रतिशत रकम अब आमाबुबालाई दिनुपर्ने


काठमाण्डौ, असार १ । 
सरकारले जेष्ठ नागरिक सम्बन्धि ऐन २०६३ लाई संशोधनको तयारी गरेको छ । संशोधनामा विभिन्न पेशा व्यवसायमा संलग्न छोराछोरीले ६० वर्ष कटेका बुबाआमालाई कमाइको दश प्रतिशत रकम अनिवार्य रूपमा दिनुपर्ने व्यबस्था राख्ने तयारी गरेको हो । सरकारले ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ संशोधन गरी आमाबुबालाई अनिवार्य पैसा दिनुपर्ने बाध्यकारी नियम ल्याउन लागेको हो।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले ऐन संशोधनको प्रक्रियालाई अन्तिम चरणमा पु¥याएको छ। वृद्ध भएका बुबाआमा आफ्नै सन्ततिबाट पीडित र अपहेलित हुने क्रम बढेकाले नयाँ नियम ल्याउन लागेको मन्त्रालयका सहसचिव महेन्द्रबहादुर थापाले बताए । थापाका अनुसार देशभरका जागिरे छोराछोरीले आफ्नो बुबाआमाकोनाममा अनिवार्य खाता खोली बैंकमार्फत रकम पठाउनुपर्ने व्यवस्थासहित ऐन संशोधन गर्न लागिएको हो।

बिहे गरेकी छोरीले पनि दिनुपर्ने

बिहे गरेकी जागिरे छोरीले पनि माइतीमा रहेका आफ्ना बुबाआमालाई कमाइको १० प्रतिशतका दरले महिनैपिच्छे बैंक ब्यालेन्स गरिदिनुपर्नेछ । यो व्यवस्था सरकारी कर्मचारी, पुलिस, सेनाबाट सुरुवात गर्ने तयारी मन्त्रालयले गरे पनि सरोकारवाला निकायससँगको छलफलपछि सबै जागिरे छोराछोरीका लागि अनिवार्य गर्न लागिएको हो । मासिक रूपमा केही न केही कमाइ गर्ने सबैले आफ्नो बुबाआमालाई कमाइको १० प्रतिशत रकम अनिवार्य रूपमा पठाउनुपर्ने गरी ऐन संशोधन गर्न लागिएको पनि थापाले जानकारी दिनुभयो। जागिर खाएकी छोरीले पनि आम्दानीका १० प्रतिशत अनिवार्य दिनुपर्ने व्यबस्था गरिदै छ ।

जेष्ठ नागरिक सम्बन्धि ऐन २०६३ मा ज्येष्ठ नागरिकलाई सबै सन्ततिले उचित भरणपोषणको व्यवस्था मिलाउनुपर्ने उल्लेख छ। तर, व्यवहारमा भने लागू भएको छैन। कतिपयले त पैतृक सम्पत्ति आफ्नो नाममा नामसारी गरी बुबाआमालाई घरनिकालासमेत गर्दै आइरहेका घटनाहरु बारम्बार आईरहेका छन्।

अपमानित गर्नेलाई कैदसम्मको सजाय

सहसचिव थापाका अनुसार आफ्नै बुबाआमालाई अपमानित गर्ने, दुःख दिने, घरबाट निकाला गर्ने छोराछोरीलाई जेल सजायसमेत हुनेछ। संशोधित ऐनमा बुबाआमाको खातामा रकम जम्मा नगरिदिने जागिरे छोराछोरी कारबाहीको भागीदार हुनेछन्।

थापाले ऐन संशोधन गरी कडाइका साथ लागू गर्ने तयारी गरिएको जानकारी दिए। “ऐन संशोधन भएलगत्तै केन्द्रदेखि जिल्लास्तरसम्म अनुगमन टोली गठन गरी कार्यान्वयन भए-नभएको हेर्नेछौँ । बुबाआमाबाट छोराछोरीले पैसा नपठाएको र आफूलाई हेला गरेको जानकारी प्राप्त भए छोराछोरीमाथि कैदसम्मको कारबाही हुनेछ,” थापाले भने ।