चुनाव लड्न ओखलढुङ्गामा बुधवार सम्म १९ शिक्षककाे राजिनामा, राजिनामा दिने क्रम जारी
विएन श्रेष्ठ, ओखलढुंगा, जेठ ३१ ।
ओखलढुंगामा स्थानीय तहको निर्वाचनमा पार्टीले टिकट दिने भएपछि शिक्षकहरुले धमाधम राजीनामा दिन थालेका छन् । जिल्ला शिक्षा कार्यालयमा बुधवार सम्म १९ जना शिक्षकहरुले राजीनामा दिइ सकेका छन् । टिकट निश्चित भएपछि उनीहरुले राजीनामा दिएका हुन् ।
राजीनामा दिनेहरुमा एमाले निकट शिक्षक संगठनका अध्यक्ष विशाल पौडेल र सदस्य हरि घिमिरे छन् । पौडेलले वडा प्रमुख र घिमिरेले चम्पादेवी गाउँपालिकाको प्रमुखको टिकट पाउने भएपछि राजीनामा दिएको बताए । पार्टीको आग्रहमा आफुले राजीनामा गरेको पनि पौडेलले बताए ।
त्यस्तै चुनाव लड्न शिक्षक संघका तीर्थ घिमिरले राजीनामा दिएका छन् । उनी सिद्धिचरण नगरपालिकाको वडा नं. १मा वडा अध्यक्ष लड्दैछन् । माम्खाका लोकबहादुर राई, मूलखर्कमा मोहन तामाङ, बलखुमा केशव लुइटेलले राजीनामा दिएका छन् । माओवादी केन्द्र निकटका दियालेका देवराज श्रेष्ठ र प्राप्चाका घनश्याम दाहालले पनि राजीनामा दिएका छन् । उनीहरुलाइ पार्टीले वडा अध्यक्षको उम्मेदवार बनाउने भएपछि राजीनामा गरेर चुनाव प्रचारमा लागेका छन् ।
उता श्रीचौरवाट अञ्जुला तामाङ्ग, उँवुका सविता राई, रानिवनका उत्तम कुमार कार्की, नर्मदेश्वरका गोपाल कुमार खड्काले पनि राजिनामा दिएका छन् । अञ्जुला माओवादी केन्द्रको तर्फवाट मोलुङ्ग गाँउपालिकाको र सविता मानेभञ्ज्याङ्ग गाउपालिकाको उप प्रमुख पदमा चुनावी मैदानमा होमिएका छन् । राई अस्थायी शिक्षक हुन भने तामाङ्ग र कार्की राहत शिक्षक हुन् । एमाले क्षेत्र नं. १ ओखलढुङ्गाका सांसद यज्ञराज सुनुवार र उप प्रमुखका उमेदवार अञ्जुलाको घर श्रीचौरमा नै हो ।
खड्का भने भिमसेनस्थान माविका कर्मचारी हुन् । गोपाल खड्का कांग्रेसका तर्फवाट लिखु गाउपालिका वडा नं. ३ र उत्तम कुमार कार्की एमालेको तर्फवाट चम्पादेवी गाँउपालिका वडा नं. १० वाट वडा अध्यक्ष पदमा चुनावी मैदानमा भिड्दै छन् । चुनावमा लड्न शिक्षकहरुले राजिनामा दिने क्रम बढीरहेको छ ।
राजिनामा गर्ने दुई जना शिक्षकले भने स्थानिय तहको निर्वाचनमा टिकट पाएनन् । टिकट नपाउदा उनीहरु आफ्नो पार्टी नेपाली कांग्रेस सग रुष्ट बनेका छन् । कांग्रेसले टिकट दिने भनेर राजीनामा दिएका चिसंखुगढी गाउँपालिको माम्खाका लोकबहादुर राई र सुनकोसी गाउँपालिका बलखुका केशव लुइँटेलले अहिले टिकट पाएनन्। राई गाउँपालिका अध्यक्ष र लुइँटेल वडा अध्यक्ष लड्ने तयारीका साथ राजीनामा दिएका थिए। शिक्षण पेसाबाट राजीनामा गर्ने अधिकांश शिक्षकहरु वडा अध्यक्षमा चुनाव लड्ने तयारीमा छन्।
राजिनामा दिने शिक्षकहरुको संख्या दुई दर्जन भन्दा माथि हुने अनुमान गरिएको छ । स्थायी शिक्षकहरुले जिल्ला शिक्षा कार्यालयमा नै र अस्थायी, राहत तथा विद्यालयका कर्मचारीहरुले विद्यालयमा नै राजिनामा बुझाउने प्राबधान छ । बुधवार सम्म एक अस्थायी र एक राहत शिक्षकले राजिनामा गरेका भनेर दुई विद्यालयहरुले मात्र जिल्ला शिक्षामा जानकारी गराएका छन् । ती दुई सहित राजिनामा गर्ने शिक्षकको संख्या १९ पुगेको छ ।
अस्थायी, राहत र विद्यालयका कर्मचारीले राजिनामा गरेको विषयमा सम्बन्धित विद्यालयहरुले जानकारी नगराएकोले थप अरु कति शिक्षकहरुले राजिनामा गरे भन्ने बारेमा थाहा नभएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । यदि विद्यालयवाट कुनै शिक्षकले राजिनामा गरेको भए यथासिघ्र जिल्ला शिक्षामा जानकारी गराउन भनी जिल्लाका सबै विद्यालयहरुलाई निर्देशन दिईएको पनि कार्यालयले जनाएको छ । राजीनामा धमाधम आए पनि के प्रयोजनका लागि हो भनेर प्रयोजन भने नखुलेको पनि जिल्ला शिक्षा कार्यालय ओखलढुङ्गाले जनाएको छ ।