नेपाली समय Loading...२०८१ चैत्र २८ बिहीबार

ओखलढुङ्गामा कांग्रेसले उमेद्वारको टुङ्गो लगायो

विएन श्रेष्ठ, ओखलढुंगा, जेठ ३० ।


ओखलढुंगाका ८ वटै स्थानीय तहहरुमा नेपाली कांग्रेसले उम्मेदवारहरुको छनौट गरेको छ । दुई गाउँपालिका मानेभञ्ज्याङ्ग र सुनकोशीको प्रमुखमा सहमति नहुँदा विवाद केन्द्रीय कार्यलयसम्म पुगेको थियो । चर्को विवाद र दवावका बिच नेपाली काँग्रेसले उमेदवारको टुङ्गो लगाएको हो ।

मानेभञ्ज्याङ्ग गाउपालिका ओखलढुङ्गा निर्वाचन क्षेत्र नं. २ का सांसद रामही खतिवडाको गाँउपालिका हो । त्यहा तरुण दल ओखलढुङ्गाका जिल्ला सभापति ज्ञानेन्द्र रुम्दालीको चर्चा चले पनि खतिवडाले मोतिराज राईलाई उमेदवार बनाएका छन् । गाउपालिकाको अध्यक्ष पदको उमेदवारीको विषय विवादित भएर केन्द्रमा पुगे पनि केन्द्रले मोतीराज राईको उमेदवारीलाई नै सदर गरेको थियो । उमेदवारीमा जनताको चाहना र पार्टीका कार्यकर्ताको भावना नबुझि पार्टीले उमेद्वार टुङ्गो गरेको भन्दै केहीले बागी उमेदवारी दिने पनि तयारी गरेका छन् ।

कहाँ कहाँ को को छन् उम्मेदवार ?
जिल्लाको एकमात्र नगरपालिका सिद्धिचरण नगरपालिकामा काँग्रेसले पुराना नेता डिल्ली खनाललाई मेयरमा अघि सारेको छ । उनले एमालेका जिल्ला अध्यक्ष तथा साबिक ओखलढुंगा गाविसका पूर्व अध्यक्ष मोहनकुमार श्रेष्ठ र नेकपा माओवादी केन्द्रका युवा नेता रुपेश शाक्य सँग प्रतिस्पर्धा गर्नेछन् ।

नगरापलिकाको उपमेयरमा कांग्रेसले हेमालक्षी राईलाई अघि सारेको छ । उनी महिला संघकी जिल्ला सभापति हुन् । उनले एमालेकी इच्छा गुरुङ र माओवादी केन्द्रकी चन्द्रा कुमारी शर्मा(फुयल) सँग प्रतिस्पर्धा गर्ने छिन् ।

कांग्रेसले चिसंखुगढी गाउँपालिकामा टेकराज भट्टराईलाई अध्यक्ष र खिला आले मगरलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ । त्यस्तै मोलुङ गाउँपालिकामा महेन्द्रबहादुर कार्की अध्यक्ष र हेमकुमारी तामाङ उपाध्यक्षमा काँग्रेसले अघि सारेको छ । खिजी देम्वा गाउँपालिकामा काँग्रेसले पूर्व शिक्षक बेदबहादुर रोकालाई अध्यक्ष पदको उम्मेदवार बनाएको छ । रोका शिक्षकबाट राजीनामा दिएर उम्मेदवार बनेका हुन् । उपप्रमुखमा शुशिला तामागं उम्मेदवार बनेकी छन् । खिजिदेम्बा गाउँपालिकामा कांग्रेस र माओवादीबीच तालमेलको प्रयास भइरहेको छ । नेपाली कांग्रेसा जिल्ला सभापति प्रदीप सुनुवारको गाउँपालिका पनि यहि हो ।

लिखु गाउँपालिकामा काँग्रेसले पुराना हस्ती अशोक कार्कीलाई अध्यक्ष पदमा अघि सारेको छ । लामो समय राजनीतिमा लगानी गरेका कार्की माओवादीका कारण बिस्थापित भएका थिए । उनी नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य खड्ग योगी र एमालेका नेता गोविन्द पौडेलसँग प्रतिस्पर्धा गर्दैछन् । उपाध्यक्षमा कांग्रेसले मन्दिरा दाहाललाई उमेदवारी बनाएको छ । चम्पादेवी गाउँपालिकामा कांग्रेसका जिल्ला सचिव नवराज के।सी। अध्यक्ष पदमा उम्मेदवार छन् । उपाध्यक्षमा निर्मला रैकालाई कांग्रेसले उम्मेदवार बनाएको छ ।

चम्पादेवीमा कांग्रेस, एमाले र माओवादीबीच त्रिपक्षीय कडा प्रतिस्पर्धा हुने देखिन्छ । माओवादीले फूलबारीका पूर्व गाविस अध्यक्ष तथा पूर्व एमालेका नेता खड्गबहादुर कार्कीलाई अघि सारेको छ । एमालेले भने पलापुका शिक्षक हरिप्रसाद घिमिरेलाई उमेदवार वनाएको छ । घिमिरे पनि शिक्षकवाट राजिनामा गरेर उमेदवार बनेका हुन् ।

सुनकोसी गाउँपालिकामा काँग्रेसका युवा नेता रुद्रप्रसाद अकिकारी चुनावी मैदानमा छन् । उनी कांग्रेसका जिल्ला सचिव हुन् । उपाध्यक्षमा दुर्गा तामाङलाई उम्मेदवार तोकिएको छन् । त्यस्तै मानेभञ्ज्याग गाउँपालिकामा पूर्व गाविस अध्यक्ष मोतिराज राई अध्यक्ष र सविता राई उपाध्यक्ष उम्मेदवार छिन् । नेता रुद्रप्रसाद अधिकारी र मोतिराज राई कांग्रेस भित्रकै लामो रस्साकस्सी पछि गाँउपालिकाको उमेदवार बन्न सफल भएका हुन् ।

जिल्लाका अन्य गाँउपालिकाहरु मध्ये मानेभञ्ज्याङ र सुनकोसी गाउँपालिका काँग्रेस बलियो देखिएको गाउँपालिका हो । दुबै स्थानीय तहमा उम्मेदवार छनौट हुन नसकेपछि पार्टी केन्द्रले तय गरेको हो । दुबै गाउँपालिकामा कार्यकर्ता भित्रै चरम असन्तुष्टि देखिएको छ । देउवा खेमाको भनेर चिनिएका रुद्र अधिकारी सुनकोसी गाउपालिकामा उम्मेदवार बनेपछि संस्थापन र सिटौला टिमका जयबहादुर श्रेष्ठ, कमल तामागं र कुमार लुइटेल यस गाउपालिकामा असन्तुष्ट बनेका छन् ।

कांग्रेसको गढ मानिएको मानेभञ्ज्याङ गाउँपालिकामा पनि चर्को विवाद छ । युवा नेता ज्ञानेन्द्र रुम्दाली उम्मेदवारका दावेदार भएपनि पुराना नेता मोति राईलाई टिकट दिएपछि विवाद बढेको छ । तरुणदलका अध्यक्ष रुम्दाली प्रभावशाली नेताका रुपमा यो गाउँपालिकामा परिचित छन् । रुम्दालीेले टिकट नपाएपछि कांग्रेस भित्रैवाट गाँउपालिकामा बागी उमेद्वार दिने तयारी भएको एक कांग्रेस नेताले जानकारी दिएका छन् ।