नेपाली समय Loading...२०८१ बैशाख ६ बिहीबार

दस्तखत नमुना पेस गर्न निर्वाचन आयोगद्वारा तीन दिनको समय

काठमाण्डाै, जेठ २६ ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि दस्तखत नमुना पेस गर्न छुटेका राजनीतिक दललाई तीन दिनको समय उपलब्ध गराएको छ । ब्यवस्थापिका संसदले स्थानीय तह निर्वाचन ऐनमा पहिलो संशोधन गर्दै छुटेका दललाई निर्वाचनमा सहभागी गराउने बाटो खोलेको भोली पल्टै आयोगले आज आगामी सोमवारभित्र दस्तखत नमुना पेस गर्न समय दिएको हो ।

स्थानीय तह निर्वाचनमा दलका तर्फबाट विभिन्न पदका लागि खडा हुने उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको सम्बन्धित दलका पदाधिकारीको नाम र दस्तखतको नमुनासहितको विवरण बुझाउनु पर्नेछ । राष्ट्रिय जनता पार्टी नेपालले दस्तखत नै बुझाउन नपाएको भन्दै निर्वाचनमा सहभागीताको बार्गेनिङ गर्दै आएको थियो ।

उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको सम्बन्धित दलका पदाधिकारीको नाम, थर, पद र निजको दस्तखतको नमुना यही जेठ २९ गतेसम्ममा पेस गर्नसक्ने व्यवस्था मिलाएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । आयोगको आज बसेको बैठकले यसअघि दस्तखत पेस गरेका राजनीतिक दलले दस्तखत नमुना परिवर्तन गर्न चाहेमा पनि तीन दिनभित्र इच्छुक नयाँ ब्यक्तिको दस्तखत नमुना बुझाउन सकिने निर्णय गरेको छ ।

दस्तखत नमुना पेस गर्नका लागि दलको केन्द्रीय कार्यसमिति वा सो सरहको समितिले गरेको निर्णयको प्रमाणित प्रतिलिपि संलग्न गर्नुपर्ने छ । निर्वाचन आयोगमा दर्ता कायम रहेका १ सय १३ राजनीतिक दलमध्ये निर्वाचन प्रयोजनका लागि ८० दलले दल दर्ता गराएकामा ६३ दलले मात्र स्थानीय तह निर्वाचनका लागि आधिकारिक दस्तखत बुझाएका छन् ।