नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

गणतन्त्र दिवसकाे अवसरमा टुडिखेलमा भव्य समाराेह

जेठ १५,  काठमाडौं

गणतन्त्र दिवस २०७४ को अबसरमा सोमबार सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम समारोहको आयोजना गरि मनाईएको छ। समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश सुशीला कार्की र सभामुख ओनसरी घर्तीले शान्तिको कामना गर्दै शान्तिका प्रतीक परेवा उडाएका थिए ।

गणतन्त्र दिवसको  अवसरमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको तर्फबाट सलामी अर्पण गरिएको थियो । समारोहमा नेपाली सेनाको सैनिक हेलिकप्टरबाट गणतन्त्र दिवसको ब्यानर प्रस्तुत गर्दै साथै पुष्पवृष्टिसमेत गराइएको थियो ।

समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले मार्चपास साथै राष्ट्रियभाव जगाउने गीत–सङ्गीत र नृत्य प्रस्तुत गरेका थिए । महानगरीय ट्राफिक महाशाखा, नेपाल प्रहरीको कमाण्डो, सशस्त्र प्रहरी बलको दङ्गा नियन्त्रण फौज, नेपाल स्काउटका तर्फबाट विभिन्न कलाकौशल समेत प्रस्तुत गरिएको थियो ।

काठमाडौँ महानगरपालिका, भक्तपुर नगरपालिका, ललितपुर महानगरपालिका, मध्यपुरठिमी नगरपालिका र कीर्तिपुर नगरपालिका मध्यपुर नगरपालिकाको तर्फबाट आ–आफनो नगरको भेशभूषा, रहनसहन झल्कने सांस्कृतिक पहिचानसहितको गणतन्त्रसम्बन्धी झाँकी र नृत्य समेत प्रस्तुत गरीएको थियो । 

गणतन्त्र दिवसलाई लक्षित गरेर सुरक्षा फौजका तर्फबाट समारोहमा राष्ट्रिय झन्डा, राष्ट्रिय फूल लालीगुराँस र सबै जाति, भाषा र संस्कृति झल्कने दियोको आकृति प्रस्तुत गरिएको थियो । नेपाल टेलिभिजन, रेडियो नेपाल लगायतका विद्युतीय सञ्चारमाध्यमले गणतन्त्र दिवस कार्यक्रमको प्रत्यक्ष प्रसारण गरेका छन् ।

समारोहमा उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि, अन्य मन्त्रीहरु, सांसद, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, चारवटै सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधिहरु सहभागी थिए । नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन नेपाल सरकारले प्रत्येक वर्ष जेठ १५ लाई गणतन्त्र दिवसका रुपमा मनाउँदै आएको छ ।