नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

सोलुखुम्बुको सगरमाथा क्षेत्रमा पर्यटककाे भिड

सोलुखुम्बु

वैशाख १०, २०७४
सोलुखुम्बुको सगरमाथा क्षेत्रमा पर्यटक ओइरिन थालेका छन् । सिजनको सुरुवातमै लागेको पर्यटक भीडले स्थानीय व्यवसायी उत्साहित छन् । लुक्लामा भरिया पाउनै मुस्किल छ ।

‘पर्यटकको भारी बोक्न तँछाडमछाड गर्ने भरियाहरू अहिले खोज्दा पनि भेटिँदैनन्,’ पर्यटन व्यवसायी दोर्जी शेर्पाले भने, ‘खुम्बुक्षेत्रको इतिहासमै सायद यस्तो घटना पहिलो पटक भएको हो । कतिपय पर्यटकले भरिया नपाएकै कारण दुई दिनसम्म लुक्लामै बस्नुपरेको छ ।’

हिमपहिरो, भूकम्प र खराब मौसमले थलिएको खुम्बुको पर्यटन लयमा फर्किन थालेपछि होटल व्यवसायी र ट्रेकिङ कम्पनीहरू उत्साहित छन् । केही वर्षदेखिको घाटा परिपूर्ति हुने आशामा उनीहरू छन् । दिङ्बोचेस्थित होटल भ्याली भ्युका सञ्चालक गेलु शेर्पाले भने, ‘यो वर्ष सोचेभन्दा धेरै पर्यटक आएका छन् । गत वर्ष सगरमाथाको सन्देश राम्रो जाँदा पनि बढेका हुन् । यस्तै हो भने बर्से्नि बढ्दै जानेमा दुईमत छैन ।’

केही दिनयता मात्रै लुक्लादेखि नाम्चेतर्फ जाने विदेशी पर्यटकको संख्या दैनिक ४ सयदेखि ५ सयसम्म रहेको पर्यटक प्रहरी बिटका जवान रमेश थापाले बताए । उनका अनुसार यो गत वर्षहरूको तुलनामा बढी हो ।

सन् २०१४ मा हिमपहिरो गएर सगरमाथा आरोहण रद्द भएपछि सोही अनुमतिले तीन वर्षसम्म सगरमाथा आरोहण गर्न सकिने पर्यटन विभागले जनाएको थियो । पुनस् अर्को वर्ष भूकम्प गएपछि आरोहण सफल हुन सकेन । सोही वर्ष अनुमति लिनेका लागिसमेत यो अन्तिम वर्ष भएकाले सगरमाथामा आरोही समूह बढेको अनुमान छ ।

गत वर्ष सगरमाथा आरोहणका लागि मात्रै ३४ समूहका २ सय ८९ जनाले अनुमति लिएका थिए । तर, यो वर्षका लागि हालसम्म ३९ समूहले अनुमति लिइसकेका छन् । २ सय ६७ भन्दा बढी सगरमाथा आरोही नाम्चेबाट उकालो लागिसकेका छन् । अझै अनुमति लिनका लागि एक महिनाभन्दा बढी समय छ ।

देशभरिका २१ वटा हिमाल आरोहणका लागि ७९ समूहले अनुमति लिइसकेको पर्यटन विभागका निर्देशक दुर्गादत्त ढकालले बताए । उनका अनुसार ७९ समूहमा ७ सय ५५ जना छन् । ‘सिजन भर्खरै सुरु भएको छ,’ उनले भने, ‘अझै अनुमति लिन आउनेको संख्या बढ्ने सम्भावना छ ।’ अहिले खुम्बुक्षेत्र प्रवेश गर्ने पर्यटकको औसत संख्यालाई आकलन गर्ने हो भने एक महिनामा १२ देखि १५ हजार भित्रिरहेका छन् । खुम्बुका होटल ७० प्रतिशतभन्दा बढी बुक भएको होटल व्यवसायीहरूको भनाइ छ ।

 

कुम्भ राज राइ

इकान्तिपुर वाट