नेपाली समय Loading...२०८१ बैशाख ६ बिहीबार

चिशंखुगढीमा स्वास्थ्य सामाग्रीको अभाव, सेवा प्रवाहमा समस्या

ओखलढुङ्गान्युज, चैत २६ शेर्ना चिशंखुगढी गाउँपालिकामा कोरोना संक्रमणको रोकथामका लागि प्रयोग हुने स्वास्थ्य सामाग्रीहरुको अभाव भएका छ । कोरोना संक्रमणको महामारीको क्रम बढेसगै स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने स्वास्थ्य सामाग्रीको चिशंखुगढी गाउँपालिकामा अभाव भएको हो ।

गाउँपालिकाले वडामा रहेका स्वास्थ्य संस्थाहरुलाई ७ सय थान मास्क, १५ लिटर सेनिटराईज र पीपीई सेट १० थान वितरण गरेको छ । गाउँपालिकाका सबै वडामा रहेको स्वास्य चौकी तथा स्वास्थ्य युनिटहरुले कोरोना भाईरस संक्रमण नियन्त्रण तथा रोकथामको बारेमा हेल्पडेस्कको रुपमा समेत सेवा दिईरहेका छन् । तर कोरोना संक्रमणको पहिलो स्टेजको रुपमा हेरिएको मानिसको तापक्रम मापन गर्ने थर्मलगन एउटा पनि नहुँदा स्वास्थ्यकर्मीहरुले अलिक असहज मानेको गाउँपालिका श्रोतले जानकारी दिएको छ ।

कोरोना भाईरस संक्रमणवाट सुरक्षित हुने सामाग्री विना नै चिशंखुगढी गाउँपालिकाका स्वास्थ्यकर्मीहरुले सेवा दिईरहेको चिशंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष शर्माका अनुसार थर्मलगन र गाउँपालिकामा थप पीपीई सेटको उपलब्धताको लागि प्रयास भैरहेको छ । देश लकडाउनमा रहेको बेला र बजारमा समेत जहाँकही ती सामाग्रीहरु नपाउदा समस्या भएको अध्यक्ष शर्माको भनाई छ ।

गाउँपालिकामा स्वास्थ्य सामाग्रीहरु अभाव भएको बारेमा जानकारी लिन खोज्दा सामाग्रीहरुको माग गरेर प्रदेश नं. १ कार्यालय विराटनगरमा पठाएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो । चिशंखुगढी गाउँपालिकामा मात्रै नभएर जिल्लाका अधिकांश स्थानमा नै थर्मलगनको अभाव भएकोले पहल भै रहेको पनि जिल्ला जनस्वास्थ्य प्रमुख तिवारीले बताउनुभयो ।

जिल्लाका केही स्थानीय तहहरुले भने गाउँपालिका प्रमुख आफैले काठमाण्डौंसम्म पुगेर आवश्यक स्वास्थ्य सामाग्रीहरु खरिद गरेका छन् । गाउँपालिकाका अध्यक्षहरु आफैले खरिद गरेर ल्याएको स्वास्थ्य सामाग्रीहरुको बारेमा स्थानीयहरुले सामाग्रीको संख्या, गुणस्तर र खरिद रकमको बारेमा भने प्रश्न गर्न थालेका छन् ।