नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

विपद व्यबस्थापन कोषमा मोलुङको १० लाख, स्वास्थ्यकर्मीलाई ५० प्रतिशत प्रोत्साहन भत्ता

ओखलढुङ्गान्युज, चैत २१ प्राप्चा मोलुङ गाउँपालिकाले गाउँपालिका स्तरीय विपद व्यबस्थान कोषको स्थापना गरेको छ । गाउँ कार्यपालिकाको शुक्रबार बसेको बैठकले विपद व्यबस्थापन कोष निर्माण गर्ने निर्णय गरेको हो । मोलुङ गाउँपालिकाको मुकाम प्राप्चामा रहेको सनराईज बैंकमा विपद व्यबस्थापन कोषको खाता सञ्चालन गर्ने निर्णय गरेको छ ।

गाउँपालिका यसभन्दा अगाडी पनि विपद व्यबस्थापन कोष सञ्चालनमा रहेको छ । तर यो विपद कोष विशेषत विश्वको महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि लक्षित गरेर खडा गरिएको मोलुङ गाउँपालिकाका अध्यक्ष मणीराज राईले बताउनुभयो । खाता सञ्चालनमा आएपछि सामाजिक सञ्जाल मार्फत नै सबैलाई जानकारी गराईने तथा यस कोषमा ईच्छुक विभिन्न संघसंस्थाहरु, कर्मचारी, उद्योगी, व्यबसायीहरुलाई समेत सहयोग गर्न आग्रह गरिएको पालिका अध्यक्ष राईले बताउनुभयो ।

कोषमा गाउँ पालिकाको तर्फवाट रु १० लाख विनियोजन गरेको छ । त्यस्तै प्रदेश सरकारको निर्देशन बमोजिम गाउँ सभा सदस्य जनप्रतिनिधीहरुको चैत महिनाको सेवा सुबिधा बापतको एकमुष्ट रकम समेत विपद व्यबस्थापन कोषमा राख्ने निर्णय गरेको छ । गाउँसभा सदस्यहरुको चैत महिनाको सेवा सुबिधा बापत करीब ५ लाख समेत कोषमा जम्मा हुने गाउँपालिकाका अध्यक्ष राईले बताउनुभयो ।

गाउँ कार्यपालिकाको शुक्रबारको बैठकले विश्वव्यापी रुपमा फैलदै गएको कोरोना भाईरसको संक्रमणको रोकथाम तथा नियन्त्रण कार्यमा खटिने स्वास्थ्यकर्मीहरुलाई तलब भत्ताको ५० प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराईने समेत पालिकाको बैठकले निर्णय गरेको छ ।

मोलुङ गाउँपालिकाले बरुणेश्वर माद्यमिक विद्यालयमा १५ बेडको वाईफाई सुबिधा सहितको क्वारेन्टाई निर्माण गरेको छ । क्वारेन्टाईनमा विदेशवाट आएका र कोरोना भाईरस संक्रमणको आशंका गरिएका तीनजनालाई राखिएको छ । क्वारेन्टाईनमा राखिएका एकजनाको भने अवस्था सामान्य देखिएपछि विहिबार घर फर्किएका छन् ।