नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

प्रदेश १ मा आईपुग्यो एक हजार पिपिई, ओखलढुङ्गालाई २० थान

ओखलढुङ्गान्युज, चैत १७ विराटनगर प्रदेश नं. १ मा शोमवार एक हजार थान व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) आईपुगेको छ । नेपाली सेनाको स्काई ट्रक मार्फत संघ सरकारले शोमवार प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो । केही दिन अगाडी चीनवाट ल्याईएको उक्त सामाग्री संघ सरकारले प्रदेश नं. १ लाई एक हजार थान हस्तान्तरण गरेको हो ।

प्रदेश सरकारलाई प्राप्त भएको उक्त सामाग्रीहरुलाई प्रदेश नं. १ भित्रका १ सय ३७ स्थानीय तहमा पठाउने तयारी भैरहेको प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताउनुभयो । मन्त्रि घिमिरेका अनुसार बर्तमान अवस्थामा तत्कालीन आवश्यकताका आधारमा पीपीईलाई स्थानीय तहहरुमा पठाउन लागिएको हो ।

मन्त्रि घिमिरेका अनुसार प्रदेश नं. १ का ठुला अस्पताल वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई १ सय ५० थान, कोशी अस्पताललाई १ सय ५० थान, कोशी अस्पताल कोरोना उपचार केन्द्रलाई २ सय थान र मेची अस्पताललाई ४६ थान उपलब्ध गराईनेछ ।

त्यसैगरि ओखलढुङ्गा जिल्लालाई भने २० थान मोरङ जिल्लालाई ३४, सुनसरीलाई २४, धनकुटालाई १४, तेह्रथुमलाई १२, संखुवासभालाई २०, भोजपुरलाई १८, सोलुखुम्बुलाई १६, उदयपुरलाई १६, खोटाङलाई २०, झापालाई ३०, पाँचथरलाई १६, ताप्लेजुङलाई १८, इलामलाई २० थानका दरले पीपीई सेट उपलब्ध गराईनेछ । प्रदेश सरकारले उपलब्ध गराउने पीपीईलाई स्वास्थ्य कार्यालय मार्फत् वितरण गरिने पनि मन्त्री घिमिरले जानकारी दिनुभयो ।

मन्त्रि घिमिरेका अनुसार संघीय सरकारको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराउने भनेको सेनिटाइजर, मास्क लगायतका सामग्रीहरु भने गाडी मार्फत प्रदेश सरकारलाई मंगलवार उपलब्ध हुनेछ । उपलब्ध भएको सामाग्रीहरुलाई आवश्यकताका आधारमा प्रदेश सरकारले जिल्ला, अस्पताल तथा स्थानीय तहहरुलाई उपलब्ध गराउनेछ ।