नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

बाहिरवाट आएकालाई निगरानीमा राख्न जिल्ला प्रशासनको अनुरोध

ओखलढुङ्गान्युज, चैत १३ ओखलढुङ्गा विदेश तथा बाहिरी जिल्लाबाट आएकाको तथ्यांक संकलन सहित निगरानीमा राख्न जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले अनुरोध गरेको छ । नोभेल कोरोना भाईरसको संक्रमणको क्रम विश्वमा फैलदै गएको अवस्थामा नेपाल पनि उच्च जोखिममा रहेकोले ओखलढुङ्गामा उच्च शतर्कता अपनाउदै सबै स्थानीय तहलाई जिल्ला प्रशासन कार्यालयले उक्त अनुरोध गरेको हो ।

जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जिल्लाका सबै स्थानीय तहलाई पत्र पठाउदै भारत लगायत अन्य मूलुकवाट गाउँमा आएकाहरुको व्यक्तिगत लगत संकलनलाई कडाइृ पूर्वक कार्यान्वयन गर्न अनुरोध गरेको छ । व्यक्तिगत लगत संकलनसगै उनीहरुलाई कम्तीमा दुईहप्ता उच्च निगरानीका साथ घरमै वरेन्टाईनमा राख्न अनुरोध गरेको छ । प्रशासनले स्वदेश कै अन्य जिल्लावाट आएकाहरुलाई समेत घरमै रहने व्यबस्थाका लागि सबै वडामा निर्देशन दिन सबै स्थानीय तहलाई अनुरोध गरेको छ ।

सबै स्थानीय तहलाई अनुरोध गरेसगै जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले कोरोनाको महामारी भएसगै विदेशवाट ओखलढुङ्गा आएका व्यक्तिहरूको तथ्यांक संलकन सुरु गरेको छ । विश्वका विभिन्न देशमा रही फर्किएकाहरूको तथ्यांक संकलन गर्न थालिएको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जनाएको छ । उनीहरुको तथ्यांक संकलनसंगै उच्च निगरानीमा सेल्फ क्वारेन्टाईमा बस्न अनुरोध गरिएको छ भने स्वास्थ्यकर्मीहरुले निगरानी गरिरहेका छन् ।

जिल्लाका आठवटै स्थानीय तहसँग समन्वय गरेर विदेशबाट आएका व्यक्तिको नाम संकलन सुरुवात गरिएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुभयो । विदेशबाट फर्किएका व्यक्तिको विवरण अद्यावधिक गरी आवश्यक रेखदेख तथा निगरानी गरिने प्रमुख जिल्ला अधिकारी आचार्यको भनाई छ ।

विदेशबाट आएका कुनै व्यक्तिमा कोरोनाको लक्षण देखिएमा क्वारेनटाइनमा राख्न पनि यस प्रकारको तथ्यांकले मद्दत पुग्ने प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो । विदेशवाट आएका व्यक्तिमा कोरोनाको संक्रमण बढी हुन सक्ने भएकाले सुरक्षित तरिकाले घरमै बस्न अनुरोध गर्दै कोरोनाको कुनै लक्षण देखिए तत्काल स्वास्थ्यकर्मी तथा प्रशासनमा सम्पर्क गर्न समेत प्रमुख जिल्ला अधिकारी आचार्यले आग्रह गर्नुभयो ।