नेपाली समय Loading...२०८१ बैशाख ११ मंगलवार

ओखलढुङ्गामा १ हजार वेड क्षमताको क्वारेन्टाईन बनाईने ः तर कहाँ कहाँ ?

ओखलढुङ्गान्युज, चैत ९ ओखलढुङ्गा । कोभिड १९ (कोरोना) भाईरसको संक्रमणले विश्वलाई आक्रान्त पार्दै गएको छ । यसलाई लक्षित गरि ओखलढुङ्गामा एक हजार वेड क्षमताको क्वारेन्टाईन बनाईने भएको छ । जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गामा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको अध्यक्षतामा आईतवार बसेको जिल्ला विपद व्यबस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

नेपाल सरकारको मन्त्रि परिषदको आईतवारको बैठकले पहाडी जिल्लामा १ हजार बेडको क्वारेन्टाईन बनाउने निर्णय सगै ओखलढुङ्गामा पनि यस्तो निर्णय भएको हो । संभावित कोरोना भाईरसको रोकथाम, प्रतिरक्षा र उपचारको व्यबस्था व्यबस्थित गर्ने लक्ष्यका साथ एक हजार जनाको क्षमता भएको क्वारेन्टाईन बनाइन लागेको हो । क्वारेन्टाईन प्रयोजनका ओखलढुङ्गा जिल्ला सदरमुकामको आसपासमा रहेको सामुदायीक तथा निजी विद्यालयको भवनलाई प्रयोग गर्ने निर्णय गरिएको ओखलढुङ्गा जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुभयो ।

पहिलो चरणमा ओखलढुङ्गा जिल्ला सदरमुकाममा रहेको ओखलढुङ्गा क्याम्पस ओखलढुङ्गालाई क्वारेन्टाईन स्थल तोकिएको छ । क्याम्पस भवनलाई क्वारेन्टाईन स्थल बनाउन आवश्यक सबै तयारीका लागि नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा ओखलढुङ्गा, नेपाली सेनाको अरिदमन गण ओखलढुङ्गाले सामाग्री उपलब्ध गराएका छन् । त्यस्तै क्वारेन्टाईन स्थलमा आवश्यक सम्पूर्ण भौतिक तयारी शशस्त्र प्रहरी गुल्म ब्यारेक ओखलढुङ्गाले गरिरहेको शशस्त्र प्रहरी गुल्म व्यारेक ओखलढुङ्गाका प्रहरी नायव उपरिक्षक सुधिर सुवेदीले जानकारी दिनुभयो ।

ओखलढुङ्गा क्याम्पस सगै सदरमुकाम आसपासका सगरमाथा जनता मावि ओखलढुङ्गा, लालिगुँरास बोर्डिङ स्कूल, सोब्रु बोर्डिङ स्कूल, जाल्पा मावि गैरीगाउँ, नारायणस्थान मावि असिने, रुम्जाटार मावि रुम्जाटारलाई क्वारेन्टाईन पोष्टको रुपमा प्रयोग गरिने छ । त्यस्तै बरुणेश्वर मावि रामपुर, शुभलक्ष्मी बोर्डिङ स्कूल गोरुमारे, युवावर्ष आधारभूत विद्यालय गोरुमारेभञ्ज्याङ्ग, ब्याडमिन्टन कभर्डहल रमाईलोडाँडालाई क्वारेन्टाईन पोष्टको रुपमा प्रयोग गरिने समेत निर्णय भएको छ ।