नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

नर्मदेश्वरको जोगिटार सामुदायिक बनमा आगलागी

प्रविण मुनाल, फागुन २९ ओखलढुङ्गा । लिखु गाउँपालिकाको वडा नं. ३ नर्मदेश्वरको सामुदायीक वनमा आगलागी भएको छ । नर्मदेश्वरमा रहेको जोगीटार सिन्दुरेपाखा सामुदायीक वन र नर्मदेश्वर महादेव गुठीको वनमा आगलागी भएको हो ।

बनमा भएको आगलागीलाई समयमै नियन्त्रण गरिदा नजिकै रहेको बस्तीमा भने आगलागी हुनबाट जोगिएको छ । बिहिबार दिउसो करिब १२ बजेबाट सुरुभएको आगलागी साँझ ६ बजे मात्र बजे मात्रै नियन्त्रणमा आएको छ । जिल्लाको लिखु गाँउपालिका वडा नम्बर ३ को जोगिटारमा रहेको उक्त सामुदायिक बनमा लागेको आगो नेपाल प्रहरी, पालिका प्रहरी र नर्मदेश्वर तथा साविकको सिंहदेवी गाविसका स्थानिय बासिन्दाको सक्रियतामा नियन्त्रणमा आएको वडा अध्यक्ष गोपाल खड्काले जानकारी दिनुभयो ।

आगालागीका कारण कुनै मानविय क्षति नभए पनि १० हेक्टर भन्दा बढी जमिनमा रहेको बोट बिरुवा जलेर नष्ट भएका छन् । झण्डै ६ घण्टा लगाएर सबैको सक्रियतामा समयमै आगलागी नियन्त्रणमा आएकोले नजिकैको बस्तिमा आगलागि हुनबाट जोगिएको छ । वनको नजिकै गोठहरु रहेकोले हावाले उडाएर आगो सल्किएको हुन सक्ने वडा अध्यक्ष खड्काले बताउनुभयो । तर स्थानीयबासीहरुले भने केही नागरिकको लापरबाहीका कारण खेतमा झ्यास पोल्न दिउसो लगाएको आगो हावाले उडाएर वनमा सल्किएको बताएका छन् ।

हिँउदयाम सुरु भए सँगै हावाहुरी चल्ने हुदा आगलागीका घटनाबाट ओखलढुङ्गा जिल्लामा बर्षेनी जनधनको क्षति हुने गरेको छ । गर्मी र सुख्खायाम सुरु भए सँगै आगलागीबारे सचेत हुन जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जिल्लाका नागरिकमा आग्रह गरेको छ । प्राय गरि बालबालिकालाई आगोजन्य कुराबाट टाढै राख्न र आफुले पनि आगोको प्रयोग गर्दा सचेत भएर प्रयाेग गर्न जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले आग्रह गरेको छ ।