नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

चिशंखुगढीमा संघीय समाजवादी फोरम र नयाँ शक्तिको समायोजन

ओखलढुंगान्युज, फागुन २९ ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिकामा तत्कालिन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीको समिति समायोजन भएको छ । केन्द्रमा पार्टी एकता भएको लामो समय पश्चात ओखलढुंगामा पनि दुवै पार्टी बिचको नयाँ समायोजन भएको हो । मंगलवार चिशंखुगढीमा भएको समायोजन पश्चात समाजवादी पार्टी चिशंखुगढी गाउँपालिका समितिको अध्यक्षमा मोहनकुमार श्रेष्ठ चयन भएका छन् ।

मंगलबार भएको दुईपार्टी बिचको समायोजन पश्चात श्रेष्ठको अध्यक्षतामा ३१ सदस्यीय नयाँ समिति गठन गरिएको ससफो ओखलढुंगाका अध्यक्ष नरेश नेम्वाङले जानकारी दिनुभयो । समायोजन पश्चात बनेको नयाँ समितिको उपाध्यक्षमा देवकुमारी राई र बलबहादुर खड्का रहेका छन् भने सचिवमा विष्णु राई रहेका छन् । त्यस्तै सदस्यहरुमा ज्ञानबहादुर अधिकारी, रिता श्रेष्ठ, सन्तोष भुजेल लगायत रहेका छन् । समाजवादी पार्टीको संगठन विस्तार तथा सुदृढीकरण अभियान (विसु अभियान) अन्तर्गत चिशंखुगढी गाउँपालिकामा तत्कालीन दुईपार्टी बिचको नयाँ समितिको समायोजन गरिएको हो ।

मंलवार सम्पन्न भएको समायोजन कार्यक्रममा समाजवादी पार्टीको प्रदेश नं १ का सदस्य विसु अभियानका संयोजक खेमराज खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । नयाँ समायोजन समितिका पदाधीकारीहरुलाई प्रमुख अतिथि खड्का, संघीय परिषद् सदस्य तथा ससफो ओखलढुंगा अध्यक्ष नरेश नेम्वाङ लगायतका अतिथिहरुले बधाई तथा शुभकामना दिनुभएको थियो । यसैगरि जिल्लाका अन्य गाउँपालिकामा समेत विसु अभियान अन्तर्गत पालिका समितिको समायोजन गर्ने कार्यक्रम रहेको समाजवादी पार्टी ओखलढुंगाले जनाएको छ ।