नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

ओखलढुङ्गामा कक्षा १ देखि ९ सम्मको परीक्षा आज (मंगलबार) बाट

ओखलढुङ्गान्युज, फागुन २७ ओखलढुङ्गा । आजवाट ओखलढुङ्गाका अधिकांश विद्यालयहरुमा चालु शैक्षिकसत्र २०७६ को कक्षा १ देखी ९ सम्मका परीक्षाहरु सुरुवात हुदैछन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको निर्देशन अनुसार आज मंगलबारबाट चालू शैक्षिक सत्रको अन्तिम परीक्षा सुरु हुन लागेको हो । मन्त्रालयले कोरोना भाइरसको त्रासले गर्दा चैत ५ गतेभित्र विद्यालयको परीक्षा सकाउन सूचना जारी गरेको थियो ।

आजवाट सुरुहुने वार्षिक परीक्षामा आधारभूत तह कक्षा ८ को परीक्षा पालिका अन्तर्गत लिइनेछ भने अरु कक्षाको परीक्षा विद्यालयले आफ्नो अनुकुल लिनेछन् । ओखलढुङ्गाका कतिपय स्थानीय तहहरुमा भने कक्षा ३, कक्षा ५ को पनि पालिका अन्तर्गत नै परीक्षा लिईने तयारी थालिएको छ । परीक्षा सञ्चालनका लागि मन्त्रालयको निर्देशन आएको भएपनि कतिपय विद्यालयले केही दिन अगाडी र केही विद्यालयले २९ गतेवाट वार्षिक परीक्षा सञ्चालन गर्दैछन् । सोही अन्तर्गत चिशंखुगढी गाउँपालिकामा भने फागुन २९ गते विहीवारवाट वार्षिक परीक्षा सञ्चालन हुनेछ । कक्षा ९ सम्मको परीक्षा सकिए लगत्तै चैत ६ गतेबाट १६ गतेसम्म माद्यमिक विद्यालय परीक्षा (एसईई) हुनेछ ।

परीक्षा सञ्चालनका लागि पालिकावाट प्रश्नपत्र तयार गरिएको भएपनि कक्षा ८ को मात्रै सम्बन्धित गाउँपालिकामा राखेर उत्तरपुस्तिकाको परीक्षण हुनेछ । ओखलढुङ्गा जिल्लामा शैक्षिकसत्र २०७६ मा करीब ३० हजार विद्यार्थीहरु अन्तिम परीक्षामा सहभागी हुदैछन् । परीक्षा लगायत अन्य सबै तथ्यांक गाउँपालिका तथा नगरपालिकामा गएकोले एकिन कति विद्यार्थी वार्षिक परीक्षामा सहभागी हुन्छन् भनेर चाही आफुहरुसँग तथ्यांक नभएको जिल्ला शिक्षा तथा समन्वय ईकाई प्रमुख भिम मिश्रले जानकारी दिनुभयो । आफ्नो पालिकामा रहेका विद्यार्थीहरुको शैक्षिक गुणस्तरको अवस्था कस्तो छ भनेर मुल्यांकन गर्नका लागि गाउँपालिकाले प्रश्नपत्र तयार गरि परीक्षा लिन सकिने मिश्रको भनाई छ ।

चालु शैक्षिकसत्रको वार्षिक परीक्षा ओखलढुङ्गामा मात्रै नभएर देशैभरका अधिकांश विद्यालयहरुमा आजैवाट सञ्चालनमा हुनेछन् । ओखलढुङ्गामा सामुदायीक तथा निजी विद्यालय गरि ३ सय ८० भन्दा बढि विद्यालयहरु सञ्चालनमा रहेका छन् । त्यस्तै देशभरी २९ हजार सामुदायिक र ६ हजार ५ सय जति निजी विद्यालय रहेकाछन् । शिशु कक्षादेखि १२ कक्षासम्म ७५ लाख विद्यार्थी रहेका छन् । आगामी वैशाख महिनाबाट नयाँ शैक्षिक सत्र सुरु हुनेछ ।