नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

खिजिदेम्बा अल्ट्रा म्याराथुनको उपाधी भीमबहादुर र रोजिनालाई

ओखलढुङ्गान्युज, फागुन १९ खिजिफलाँटे ।  खिजिदेम्बा अल्ट्रा म्याराथुन दोश्रो संस्करणको उपाधि भिमबहादुर गुरुङ र रोजिना भण्डारीले जितेका छन् । शोमबार खिजिफलाटेमा आयोजित अल्ट्रा म्याराथुनमा गुरुङ र भण्डारीले उपाधी चुमेका हुन् ।

खिजिदेम्बा गाउँपालिकाको खिजिफलाँटे बजारबाट सुरु भएको म्याराथुन प्रतियोगिता सोलुखुम्बुको सिमानामा पर्ने भुलभुले सम्म पुगि पुनः खिजिफलाँटेमै आएर टुंगिएको थियो । प्रतियोगिताको फुल म्याराथुन अन्तर्गत ४२ किलोमिटर दूरी पुरुष विधातर्फ गोरखा आरुघाटका ३७ वर्षीय भीमबहादुर गुरुङले तीन घण्ट ४९ मिनेटमा पूरा गरे भने महिला विधामा जुम्लाकी रोजिना भण्डारीले चार घण्टा ५८ मिनेटमा दौड पूरा गर्दै विजेता बनेकी हुन् ।

रोजिना भण्डारी नेपाली सेनाकी धाविका हुन् । पूर्व नेपाली सेनाका भीमबहादुर साविक विजेता हुन् । त्यसैगरी पुरुष विधातर्फ गोपाल तामाङले ४ घण्टा तीन मिनेटमा निर्धारित दूरी पार गर्दै दोश्रो भएका छन् भन चार घण्टा पाँच मिनेटमा निर्धारित दूरी पार गर्दै  दुर्गा बुढा तेश्रो भएका छन् ।

उता महिलातर्फ भने साविक विजेता हुमी बुढामगरले पाँच घण्टा १८ मिनेटमा दौड पूरा गर्दै दोश्रो भइन् भने स्थानीय धाविका सविना तामाङले पाँच घण्टा ३२ मिनेटमा दौड पूरा गर्दै तेश्रो भइन् । म्याराथुनमा पुरुष तर्फ २४ जना र महिला तर्फ १२ जना गरी जम्मा ३५ जनाले सहभागीता जनाएका थिए ।

साहसिक खेलकुदका माध्यमबाट जिल्लाको पर्यटन विकासमा टेवा पुर्याउने उद्देश्यका साथ ओखलढुङ्गा पर्यटन विकास समितिले गत वर्षदेखि म्याराथुनको आयोजना गर्दै आएको हो । विजेताहरुले विधागत रुपमा क्रमशः ७० हजार, ५५ हजार, ४० हजार, ६ हजार र ४ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । म्याराथुनका विजेताहरुलाई संघिय प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।