नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

ओखलढुंगामा भुस्याहा कुकुरका कारण कृषक आतंकित

ओखलढुंगान्युज, फागुन १४ ओखलढुंगा । भुस्याहा कुकुर नियन्त्रण गर्न ओखलढुंगाका कृषकहरुले नगरपालिका प्रमुखको ध्यानाकर्षण गरेका छन् । बुधवार सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाउदै पिडित कृषकहरुलाई क्षतिपूर्तिको व्यबस्था गर्न र भुस्याहा कुकुरको नियन्त्रणको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

गत वर्ष कृषकहरुलाई आतंकित बनाएको कुकुरहरुको समूहले यस पटक पनि कृषकहरुको पशु चौपायालाई क्षति गर्न थालेपछि कृषकहरु आतंकित भएका हुन् । मंगलवार सिद्धिचरण नगरपालिका वडा नं १२ सितलपुरका चन्द्रकला श्रेष्ठको गोठमा रहेको खसी बाख्रा मार्दा करीब १ लाख बराबरको क्षति भएको छ । मंगलवार दिउसो पानी परेको समयमा श्रेष्ठको गोठमा गएका भुस्याहा कुकुरहरुले चारओटा व्याउने बाख्रा र एकओटा खसीलाई आक्रमण गरेको थियो । कुकुरको आक्रमणवाट एकओटा खसी र तिनओटा व्याउने बाख्रा मरेको छ ।

             मंगलवार भुस्याहा कुकुरले मारेको चन्द्रकला श्रेष्ठको खसी बाख्रा

केहिदिन अगाडी मात्रै पनि सोही स्थानका शंकर राजभण्डारीको गोठमा बाधिराखेको दुईओटा खसीलाई कुकुरले मारेको थियो । त्यस्तै सिद्धिचरण नगरपालिका वडा नंं. ११ का कृष्ण बहादुर खत्रीको पनि खसी बाख्रालाई कुकुरले मारेको थियो । यीन गत वर्ष पनि भुस्याहा कुकुरको समूहले ओखलढुंगाका एकदर्जन बढि कृषकहरुको एकसय भन्दा बढि पशु चौपाया मारेको थियो । सयौ पशुचौपायालाई मारेपछि सिद्धिचरण नगरपालिकाका प्रमुखको कार्यकक्षमा भएको सर्बदलिय बैठकले पशुलाई आक्रमण गर्ने कुकुरको पहिचान गरि नियन्त्रण गर्ने निर्णय गरेको थियो ।   

कुकुरलाई नियन्त्रण गर्ने भन्ने निर्णय भएको भएपनि हाल पुन कुकुरहरुले पशु चौपायालाई आक्रमण गरि मार्नथाले पछि क्षतिपूर्तिको माग सहित ध्यानाकर्षण पत्र बुझाएका हुन् । ध्यानाकर्षणपत्र बुझ्दै नगरपालिका प्रमुख मोहन कुमार श्रेष्ठले भुस्याहा कुकुरको नियन्त्रणका लागि १५ दिने सार्वजनिक सूचना प्रवाह गरि नियन्त्रणका लागि पहल गरिने बताउनुभएको छ ।