नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

तेश्रो मदन स्मृति पुरुष भलिबल प्रतियोगिताको उपाधि सोलुखुम्बु र सुनसरीलाई

ओखलढुङ्गान्युज, फागुन १० सोलुखुम्बु । मंगलबार देखि सुरु भएको तेश्रो मदन स्मृति पुरुष भलिबल प्रतियोगितामा शनिबार सम्पन्न भएको छ । शनिबार सम्पन्न प्रतियोगितामा सोलुखुम्बु र सुनसरीलाई संयुक्त रुपमा विजेता घोषित भएका छन् । प्रतिस्पर्धात्मक खेललाई असिना पानीले बिथोले पछि आयोजकले दुवै टिमलाई संयुक्त रुपमा विजेता घोषित गरेको हो ।

प्रतिष्पर्धात्मक फाइनल खेलको पहिलो र दोश्रो सेटमा लगातार जित हात पारेको सोलुखुम्बु तेश्रो र चौथो सेटमा लगातार पराजित भएको थियो । बर्षाको बीचमा खेलाइएको फाइनलको पाँचौं सेटको खेल चलिरहँदा पुन असिना सहित भारी बर्षा भएको थियो । असिनाका साथमा भारी बर्षा हुनु अघि पाँचौ सेटको खेलमा दुवै टिमले पाँच पाँच अंक बनाएका थिए ।

संयुक्त रुपमा प्रथम हुन सफल सोलुखुम्बु र सुनसरी दुवै टिमले एक लाख ५१ हजार नगद पुरस्कारका साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेकाछन् । मदनभण्डारी स्पोर्टस क्लव एकेडेमीको आयोजनामा भएको फाइनल विजेता टिमलाई प्रदेश नं १ नेकपा संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रदेश सभाको तर्फवाट थप ५० हजार नगद पुरस्कार थप गर्नुभएको थियो ।

यस अघि तेश्रो स्थानका लागि भएको प्रतिस्पर्धात्मक खेलमा भोजपुरलाई पराजित गर्दै झापा विजयी भएको थियो । तेश्रो र चौथो स्थान प्राप्त गर्न सफल झापा र भोजपुरलाई क्रमशः नगद ५१ हजार र २५ हजारका साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । मंगलबारदेखि सोलुखुम्बुको योङ्ग स्टार क्लवमा शुरु भएको प्रतियोगितामा प्रदेश नम्बर १ का १३ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी अनिश राई सुनसरी र सञ्जय बस्नेत, सोलुखुम्बु भएका छन् । त्यस्तै उत्कृष्ट ब्लकर सुरज चौधरी सुनसरी, उत्कृष्ट स्पाइकर सुमन मगर सोलुखुम्बु, उत्कृष्ट सेटर अर्जुन राई, सोलुखुम्बु घोषित भएका छन् । त्यसैगरी उत्कृष्ट लिब्रो बसन्त राई सुनसरी, उत्कृष्ट सर्भर भरत यादव झापा, उदयमान खेलाडी रोमन बस्नेत भोजपुर हुन सफल भएका छन् ।

प्रतियोगिताको अबधिमा उत्कृष्ट खेलाडी घोषित भएका अनिश राई र सञ्जय बस्नेतले आठ आठ हजार नगद पुरस्कार प्राप्त गरे भने अन्य विधामा उत्कृष्ट हुन सफल खेलाडीहरुले दश/दश हजार नगद पुरस्कार प्राप्त गरेकाछन् ।