नेपाली समय Loading...२०८१ बैशाख ११ मंगलवार

प्रजातन्त्र दिवसको अवसरमा ओखलढुङ्गामा  रक्तदान

ओखलढुङ्गान्युज, फागुन 7 ओखलढुङ्गा । राष्ट्रिय प्रजातन्त्र दिवस तथा निर्वाचन दिवस एवम् सेना दिवसको अवसरमा ओखलढुङ्गामा बुधबार प्रभातफेरी कार्यक्रम सञ्चालन गरिएको छ । प्रभातफेरीमा जिल्ला सदरमुकाममा रहेका विभिन्न माद्यमिक विद्यालय विद्यार्थीहरु सहित जिल्लाका निर्वाचित जनप्रतिनिधी, सरकारी कार्यालय तथा गैरसरकारी संघसंस्थाका प्रमुख एवम् प्रतिनिधीहरु, सुरक्षा निकाय, पत्रकारहरुको सहभागीता रहेको थियो ।

जिल्ला खाद्य संस्थानको गोदाम अगाडीवाट सञ्चालन भएको प्रभातफेरीमा सहभागीहरुले विभिन्न नारा सहितका प्ले कार्ड बोकी बजार परिक्रमा गरि सिद्धिचरण नगरपालिकाको प्राङ्गणमा आएर समापन भएको थियो । प्रभातफेरी पश्चात बुधबार नै ७० औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर सिद्धिचरण नगरपालिकामा रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो । रगतदान जिवनदान भन्ने मुल नाराका साथ राष्ट्रिय प्रजातन्त्र दिवस २०७६ को अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

केही दिन अगाडी मात्रै अस्पतालले एक कार्यक्रममा सामुदायीक अस्पतालमा रगतको अभाव हुँदा विरामीहरुको अप्रेशन गर्न समस्या भएको गुनासो गरेको थियो । रगतको अभाव हुदा अप्रेशन गर्नुपर्ने वा अन्य कारणले उपचारमा आएका तर तत्काल रगतको आवश्यकता भएका विरामीहरुलाई रगत अभाव भएमा नेपाली सेनाको टिमलाई अनुरोध गर्ने गरिएको थियो ।

अस्पतालमा भएको उक्त समस्यालाई केही मात्र भएपनि कम गराउन प्रजातन्त्र दिवस, निर्वाचन दिवस एवम् सेना दिवस तथा शिवरात्रीको अबसर पारेर आयोजना गरिएको कार्यक्रममा रक्तदान कार्यक्रमको आयोजना गरिएको सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद भट्टराई सहित सरकारी कर्मचारी, स्थानिय नागरिक, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका प्रमुख तथा जवानहरु सहित १७ जनाले रक्तदान गरेका थिए । संकलित रगत ३५ दिन सम्म विरामीका लागि प्रयोग गर्न सकिने सामुदायीक अस्पतालका विजिनेश म्यानेजर बुद्ध श्रेष्ठले जानकारी दिनुभयो । संकलित रगत सामुदायीक अस्पतालको ब्लड बैंकमा राखिनेछ ।

सिद्धिचरण नगरपालिका ओखलढुङ्गाले आयोजना गरेको रक्तदान कार्यक्रमका लागि ओखलढुङ्गा सामुदायीक अस्पतालको प्राबिधीक सहयोग एवम् जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले समन्वय गरेको थियो । रक्तदान कार्यक्रममा सहभागी भएका व्यक्तिहरुलाई सिद्धिचरण नगरपालिकाले प्रमाणपत्र प्रदान गरेको छ । रक्तदाताहरुलाई सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठ, जिल्ला समन्वय समितीका उप सभापती दिल कुमारी खतिवडा तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले प्रमाणपत्र प्रदान गर्नुभएको हो ।