नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

नगरपालिकाको बक्तृत्वकलामा निशान बने प्रथम

ओखलढुङ्गान्युज, फागुन ५ ओखलढुङ्गा । सिद्धिचरण नगरपालिकामा आईतबार भएको खुला बक्तृत्वकला प्रतियोगितामा सुनकोशीका निशान श्रेष्ठ प्रथम भएका छन् । सुनकोशी गाउँपालिका वडा नं. १० का निशानले प्रथम हुदै नगद रु ९ हजार र प्रमाणपत्र हात पारेका छन् । नगरपालिकाको सभाहलमा सम्पन्न भएको युवा प्रतिभाको खोजी तथा उनीहरुको कार्यलाई प्रोत्साहन कार्यक्रम अन्तर्गत शिक्षाको रुपान्तरणमा युवाको भूमिका विषयक बक्तृत्वकला प्रतियोगिता सञ्चालन भएको थियो ।

प्रतियोगितामा सहभागि भएका प्रतियोगिहरु ११ जना मध्ये मोलुङ्ग गाउँपालिका वडा नं. १ का सरोज ढकाल दोश्रा भएका छन् । उनले नगद रु ७ हजार सहित प्रमाणपत्र हात पारेका छन् । त्यस्तै चम्पादेवी गाउँपालिका वडा नं. ४ फेदिगुठका देवकी थापा तेश्रो भएका छन् । उनले पनि नगद रु ४ हजार सहित प्रमाणपत्र हात पारेका छन् ।

प्रतियोगितामा प्रथम हुनेले प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगितामा सहभागी हुने अवसर पाएका छन् । प्रदेशमा हुने प्रतियोगितामा समेत प्रथम भएमा विजेताले नगद रु २० हजार सहित प्रमाणपत्र प्राप्त गर्ने जिल्ला युवा समिति ओखलढुङ्गाका अध्यक्ष सुधिर कार्कीले जानकारी दिनुभयो । प्रदेशमा प्रथम हुनेले संघिय स्तरको बक्तृत्वकला प्रतियोगितामा सहभागी हुने अबसर पाउने छन् भने त्यसमा सहभागी हुन जादा आउदा लाग्ने खर्च प्रदेश सरकारवाट उपलब्ध हुने पनि अध्यक्ष कार्कीले जानकारी दिनुभयो । अध्यक्ष कार्कीका अनुसार काठमाण्डौंमा हुने प्रतियोगिताको विजयीले नगद रु ५० हजार सहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

विजयी प्रतियोगीहरुलाई सिद्धिचरण नगरपालिकाका उपप्रमुख ईच्छा कुमारी गुरुङले नगद तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठको अध्यक्षतामा भएको प्रतियोगितामा नगरपालिकाका उपप्रमुख ईच्छा कुमारी गुरुङ, प्रमुख प्रशासकिय अधिकृत रामेश्वर पोखरेल लगायतको समेत उपस्थिती रहेको थियो । अतिथीहरुले विजयी तथा सहभागी युवाहरुलाई धन्यवाद बधाई दिएका थिए । साथै प्रदेशमा हुने प्रदेश स्तरिय बक्तृत्वकलामा समेत प्रथम स्थान ओगट्न सफलताको शुभकामना व्यक्त गरेका थिए ।