नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

पात्लेमा शेर्पाको शिली नृत्य प्रशिक्षण सुरु

ओखलढुङ्गान्युज, माघ १६ ओखलढुङ्गा । खिजिदेम्बा गाउँपालिकाको पात्लेमा आजवाट सिली नृत्य प्रशिक्षण सुरु भएको छ । उन्जेलामा स्मृती प्रतिष्ठान ओखलढुङ्गाको आयोजनामा ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका वडा नं. ९ पात्लेमा विहिवारवाट सिली नृत्य प्रशिक्षण शुरु भएको हो ।

शेर्पा समुदायको महत्वपूर्ण नृत्यको रुपमा लिइने सिली नृत्य प्रशिक्षणमा स्थानीय ११ जना युवाहरुले सहभागिता जनाएका छन् । शेर्पा जातिको विवाह संस्कारमा विशेष महत्वका साथ नाचिने सिली नृत्य लोप हुँदै गएको भन्दै प्रतिष्ठानले प्रशिक्षण आयोजना गरेको संयोजक लाक्पा ग्याल्जे शेर्पाले जानकारी दिनुभयो । नृत्य प्रशिक्षण पात्लेको दुई स्थानमा सञ्चालन गरिने छ । दुई स्थानमा सञ्चालन हुने प्रशिक्षणमा २० जना भन्दा बढि स्थानीय युवाहरुले प्रशिक्षणमा सहभागीता जनाउने  पनि संयोजक शेर्पाले जानकारी दिनुभयो ।

शेर्पा समुदायका अग्रज पुर्खाहरुले यो नृत्य नाच्ने गरेतापनि युवाहरुलाई पुस्तान्तरण नहुँदा नृत्य लोप हुँदै गएको छ । लोप हुदै गएको यस नृत्यको जगेर्ना गर्ने हेतुले प्रशिक्षण आयोजना गरिएको शेर्पाले बताउनुभयो । तालिममा सिन्धुपाल्चोकका दुई युवाहरुले प्रशिक्षण दिईरहेका छन् । बाजेहरुले नाच्ने गरेको सिलि नृत्यलाई सिक्न स्थानीय युवाहरु विशेष चासोका साथ सहभागि भएको स्थानिय शिक्षक लाक्पा शेर्पाले बताउनुभयो ।

सिली नृत्य प्रशिक्षण एक हप्तासम्म सञ्चालन हुने आयोजकले जनाएको छ । दैनिक २ घण्टा सञ्चालन हुने प्रशिक्षण खिजिदेम्बा गाउँपालिकाको वडा नं. ९ को छेर्मादिङ र फाप्रेमा दुई सिफ्टमा सञ्चालन हुने पनि आयोजकले जनाएको छ । प्रतिष्ठानले यसअघि पनि शेर्पा संस्कृतिमा आधारित श्याब्रु नृत्य प्रशिक्षणको आयोजना गरेको थियो ।