नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

ओखलढुङ्गाको  चम्पादेवीमा बोलेरो दुर्घटना, १ को मृत्यु ३ को अबस्था गम्भिर

विएन श्रेष्ठ, माघ १३ चम्पादेवी । ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नं. ५ फेदिगुठको बरुवाल डाँडा भन्ने स्थानमा शोमबार विहान बोलेरो दुर्घटना भएको छ । बोलेरो दुर्घटना हुदा बोलेरोमा सवार १ जनाको घटनास्थलमा ज्यान गएको छ भने तीन जनाको अबस्था गम्भिर रहेको छ । दुर्घटनामा परि चम्पादेवी गाउँपालिका वडा नं. ५ बासबोटेका अन्दाजी वर्ष ५६ का सन्तोष विकको घटनास्थलमा नै ज्यान गएको छ ।

दुर्घटनामा परि चम्पादेवी ५ कै मृतक सन्तोषका छोरी वर्ष २५ की कमला विक, अन्दाजी वर्ष २० की अनिता बुढाथोकी र बोलेरोका साहू वर्ष ४० का खत्री काईला भनिने जीत बहादुर खत्री गम्भिर घाईते भएका छन् । बोलेरोका सहचालक किरण बुढाथोकी पनि सामान्य घाईते भएको चम्पादेवी गाउँपालिका वडा नं. ५ का कार्यबाहक वडा अध्यक्ष चन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो ।

घाईतेहरुको अबस्था निकै चिन्ताजनक रहेको र बाटो पनि अप्ठेरो भएको कारण यो समाचार तयार पार्दा सम्म उद्धार गरि नजिकको स्वास्थ्य संस्थामा समेत लैजान सकिएको छैन । विरामीलाई उपचारका लागि काठमाण्डौं लैजान हेलिकप्टरको व्यबस्थाका लागि पहल भैरहेको पनि कार्यबाहक वडा अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

फेदीगुठ ओखलढुङ्गा सडकखण्डमा चल्ने बा २१ च ७३६१ नम्बरको उक्त बोलेरो आईतवार ओखलढुङ्गावाट फेदिगुठ गएको थियो । लामो समय देखी विरामी रहेका मृतक विकलाई रोगले समेत चापेपछी उनको उपचारका लागि शोमबार ओखलढुङ्गाको सामुदायीक अस्पताल मिसनमा ल्याउने तयारी थियो । विकलाई मिसनमा लैजानका लागि बोलेरो शोमबा विहान साढे ५ बजेतिर नै फेदिगुठ बजारवाट बासबोटे गएको थियो ।

विरामी सन्तोषलाई लिएर मिसन तर्फजाने क्रममा बरुवाल डाँडाको चौतारो छेउको ओरालोमा बोलेरोको ब्रेकफेल भएको थियो । बोलेरोको ब्रेकफेल भएपछि गाडिका सहचालक किरण गाडीको चक्कामा ढुङ्गो राख्ने प्रयास गर्दै थिए । तर ओरालो भएका कारण उनको प्रयास सफल हुन सकेन । जसका कारण बोलेरो सडकबाट अन्दाजी १ हजार ५ सय मिटर तल खोल्सामा खसेको थियो । घटनास्थलमा अहिले प्रहरी चौकी चुप्लु घोराखोरी र प्रहरीचौकी कोषहाटको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

घाईते भएका तिनैजनाको अबस्था गम्भिर रहेको र तिनीहरुको उपचारका लागि काठमाण्डौं पठाउन सबै तयारी भैरहेको ओखलढुङ्गा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक रुपेश खड्काले जानकारी दिनुभयो । विरामी लिनका लागि काठमाण्डौवाट हेलिकप्टर आईसकेको भएपनि मौसम खराबीका कारण रामेछापवाट ओखलढुङ्गा तर्फ हेलिकप्टर आउन नसकेकोले समस्या भैरहेको पनि प्रहरी नायव उपरिक्षक खड्काले जानकारी दिनुभयो । घटनाको विषयमा अध्ययन भैरहेको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।