नेपाली समय Loading...२०८१ बैशाख ४ मंगलवार

१८० मध्ये भ्रष्टाचार हुने देशमा नेपाल ११३ औं स्थानमा

ओखलढुङ्गान्युज, माघ ९ काठमाण्डौं । विश्वका १ सय ८० देश मध्ये भ्रष्टाचार हुने देशहरुको तथ्यांकमा नेपाल १ सय १३ औं स्थानमा परेको छ । ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालले आज (विहिवार) एक कार्यक्रमका बिच सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालले कूल १०० अंकमा ३४ अंक प्राप्त गर्दै १ सय १३ औं स्थानमा पुगेको हो ।

आज ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा गत वर्षभन्दा भ्रष्टाचार घटेको देखाएको छ। सन् २०१८ मा १०० अंकमा ३१ अंकसहित १२४ औं स्थानमा रहेको नेपाल २०१९ मा ३४ अंकसहित ११३ औं स्थानमा पुगेको हो । भ्रष्टाचार हुने कृयाकलापमा केही सुधार भए पनि नेपाल भ्रष्टाचार व्याप्त रहेका मुलुकको श्रेणीबाट माथि भने उक्लिन सकेको छैन ।

बिहीबार सार्वजनिक गरेको ‘भ्रष्टाचार अवधारणा सूचकांक २०१९’ मा नेपालले तीन स्थान सुधार गरेको देखिएको हो । ट्रान्सपरेन्सीले विश्वका १८० देशलाई समावेश गरेर यो सूचकांक सार्वजनिक गरेको हो । विश्व बैंक, वर्ल्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेसन, वर्ल्ड जस्टिस प्रोजेक्ट र भीडीइएम समेत ६ संस्थाको सर्वेक्षणका आधारमा नेपालले सुधार गरेको हो ।

यस वर्षको सूचकाङ्कमा समावेश १८० देशमध्ये डेनमार्क कुल १०० मा ८७ अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक भएको छ भने सोमालिया ९ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रुपमा सूचीकृत भएको छ । सीपीआई २०१९ मा दुईतिहाई मुलुकले ५० भन्दा कम अर्थात् औषत ४३ अंक पाएका छन् । २२ देशले आफ्नो स्कोरमा राम्रो सुधार गरेका छन् भने २१ देशको स्कोर अझ तल झरेको छ ।