नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

ओखलढुङ्गामा ६० जनालाई सामुदायीक विपद प्रतिकार्य तालिम

ओखलढुङ्गान्युज, माघ ५ ओखलढुङ्गा । ओखलढुङ्गामा चारदिने सामुदायीक विपद प्रतिकार्य तालिमको आज (आईतवार) सम्पन्न भएको छ । राष्ट्रिय भूकम्प सुरक्षा दिवस माघ २ देखी सुरु भएको तालिम आज सम्पन्न भएको हो ।

समापन सत्रलाई सम्बोधन गर्दै मोलुङ गाउँपालिकाका प्रमुख मणिराज राईले स्थानीय स्तरको वडा–वडा सम्म तालिम प्राप्त विपद प्रतिकार्य समूहको आवश्यकता रहेको बताउनुभएको थियो । मोलुङ गाउँपालिकाले वडा स्तर सम्म विपद प्रतिकार्य समूह निर्माण गर्ने योजना रहेको समेत पालिका प्रमुख राईले बताउनुभयो ।

त्यस्तै मानेभञ्ज्याङ्ग गाउँपालिकाका प्रमुख मोतिराज राईले जथाभावी खनिएका सडकका कारणले पनि विपद निम्त्याएको भन्दै विपद पछि उद्धार गर्नुभन्दा पनि पहिले नै तयारी गर्नुपर्ने आवश्यकता औल्याउनुभएको थियो । तालिम लिनु मात्रै उपलब्धी नहुने भन्दै विपद परेको बेलामा सहयोगी भावनाका साथ उद्दार कार्यमा जुट्नु मुख्य कुरा भएकोले विपद आईलाग्दा स्वस्फूर्त रुपमा सहभागी हुन अध्यक्ष राईले तालिमका सहभागीहरुलाई अनुरोध गर्नुभयो ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले विपद परेका बेलामा जुट्न जिल्लामा सुरक्षा निकायको जनशक्ति तयार रहेको भएपनि सवारी साधन तथा दुरीका कारण समस्या हुने गरेको बताउनुभयो । त्यसका लागि स्थनीय सरकार प्रमुखहरुले व्यबस्थापन गर्नुपर्ने आवश्यकता प्रमुख जिल्ला अधिकारी आचार्यले औल्याउनु भयो । स्थानीय तहले व्यबस्थापनमा सहयोग गरे समन्वयका लागि आफु सदैव तयार रहेको प्रमुख जिल्ला अधिकारी आचार्यको भनाई थियो ।

अब गर्मीको सिजन लाग्दै गरेकोले आगलागीको घटनाहरु हुने भएको भन्दै आगलागीलाई नियन्त्रण गर्न तथा आगलागीलाईबाट हुने क्षतीलाई कमगर्न स्थानीय सरकारहरुले बेलैमा जनचेताका कार्यक्रमहरु सञ्चालन गर्न अनुरोध समेत गर्नुभएको थियो ।

तालिम समापनको अवसरमा मोलुङ गाउँपालिकाका प्रमुख मणिराज राई र मानेभञ्ज्याङ्ग गाउँपालिकाका प्रमुख मोतिराज राई, प्रमुख जिल्ला अधिकारी गणेश आचार्य, जिल्ला समन्वय अधिकारी तथा जिल्लाका राजनितीक दलका प्रतिनिधीहरुले समेत सम्बोधन गरेका थिए । सिद्धिचरण नगरपालिकाको सभाहलमा सञ्चालन भएको तालिममा जिल्लाका आठओटै स्थानीय तहका विपद व्यबस्थापन समितिका सदस्यहरु, जिल्ला विपद व्यबस्थापन समितिका सदस्य तथा जिल्लामा रहेका सरकारी कार्यालयका केही कर्मचारी समेत गरि तालिममा सहभागीता जनाएका थिए ।

जिल्ला विपद व्यबस्थापन समितिको समन्वयमा भएको तालिमको ओखलढुङ्गाको अरिदमन गणले आयोजना गरेको हो । तालिममा सहभागी भएका ६० जना सहभागी तथा अरिदमन गणका प्रशिक्षकहरुलाई समापन समारोहका अतिथिहरुले प्रमाणपत्र प्रदान गरेका थिए ।