नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

खोटाङमा भएको आगलागीवाट ४८ लाख  बराबरको क्षति

ओखलढुङ्गान्युज, पौष २९ खोटाङ । खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ को बाम्राङ रमितेडाँडा भन्ने ठाँउमा मंगलवार आगलागी भएको छ । बाम्राङ रमितेडाँडाका गोपी कटवालको घरमा आगलागी हुँदा झण्डै ४८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

मङ्गलबार बिहान करीब पौने ८ बजे तिर भएको आगलागीमा कटवालको दुई तले घर तथा घरमा राखिएका ६ तोला सुन, दुई लाख नगद, ५० मुरी बराबरको धान, ३० मुरी बराबरको मकै, २० मुरी बराबरको कोदो, भाँडावर्तनल गायतका धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

कटवालको घरमा लागेको आगो स्थानियले मात्रै नियन्त्रणमा लिन नसकेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना समेत लागि पर्नुपरेको थियो । आगोलाई नियन्त्रणमा लिएपनि घरमा रहेको नगद, गरगहना तथा अन्नपातलाई भने जोगाउन सकेनन् । अग्नी पीडित कट्वाल सामुदायिक सेवा केन्द्र दिक्तेलका इञ्चार्ज एवं प्रहरी सहायक निरीक्षक (असई) हुन् । आगलागी के कारणले भएको हो भन्ने बारेमा भने केही खुलेको छैन ।