नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

ईराकमा भएको मिसाईल आक्रमणमा ५ सिपाहीको मृत्यु

ओखलढुंगान्युज, पौष २४ विदेश । इराकको राजधानी बगदादको ग्रीनजोनमा आज मिसाईल आक्रमण भएको छ । राजधानी बगदाद शहरको उच्च सुरक्षा रहेको ग्रीन जोनमा नै मिसाईल आक्रमणका क्रममा पाँचजना सैनिकको ज्यान गएको बताईएको छ । ग्रीनजोनमा नै आक्रमण भएपछि अमेरिका र इरान बिचको तनाव थप चर्किएको छ ।

अन्तराष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार यो पटक दुईओटा मिसाईल उच्च सुरक्षाको घेराभित्र रहेको इराकको बगदाद स्थित ग्रीनजोन (अन्तराष्ट्रिय क्षेत्र) मा खसेको छ । मिसाईल आक्रमण भएको स्थानमा दर्जनौको संख्यामा विदेशी दुतावासका कार्यालयहरु रहेका छन् । मिसाईल आक्रमणको ठूलो विस्फोटको आवाजका कारण उक्त क्षेत्रमा साईरन बजेको थियो । मिसाईल आक्रमणको हालसम्म कुनैपनि राष्ट्र तथा संगठनहरुले जिम्मा लिएका छैनन् ।

एक दिनअघि इरानले इराकस्थित दुई अमेरिकी सैन्य बेस क्याम्पमा १६ वटा मिसाइल हानेको थियो । त्यसको २४ घण्टा नवित्दै इराकमा फेरि अर्को मिसाईल हमला भएको हो । अमेरिकी अधिकारीहरुले यस हमलाको पछाडि इराकस्थित इरान समर्थित शिया विद्रोही संगठन ‘हाशेद’ को हात रहेको दाबी गरेको छ ।

इरान समर्थित संगठन पिएमएफका प्रवक्ताका अनुसार यो हमलामा कम्तीमा ५ जना सेनाका जवान मारिएका छन् । पिएमएफ शिया लडाकुको एक गुट हो । यो आधिकारिकरुपमा इराकी सुरक्षाबलमा संलग्न रहेकोछ ।

इरानले अनबर प्रान्तमा ऐन अल, असद एयर बेस र इरबिलको एक ग्रीन जोनमा हमला गर्दा ८० जना सैनिक मारिएको दाबी गरेको थियो ।  तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस दाबीलाई झुटो भएको बताएका थिए ।