नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

ओखलढुंगामा एक पुरुष मृत अबस्थामा फेला

ओखलढुंगान्युज, पौष  23 ओखलढुंगा । ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं. ८ जरंगे भन्ने स्थानमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । मृत अबस्थामा फेला परेका पुरुष स्थानीय अन्दाजी वर्ष ५२ को कालुराम गुरुंग रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिनुभयो ।

साबिकको सल्लेरी गाविसको जरंगेका स्थानीय पूर्ण बहादुर तामांगको आगनमा गुरुंग मृत अवस्थामा फेला परेका हुन । तामांगका श्रीमतीले राती शौचालय जान ढोका खोल्ने क्रममा एक पुरुष लडिरहेको देखी को रहेछ भनेर बोलाउदा बान्ता पनि गरेको र केही नबोलेपछि गाउँले छिमेकीलाई खबर गरेकी थिईन् । तामांगको घरमा स्थानियहरु पुगेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालयको टोली पुगेर सर्जमिन मुचुल्का गरि शबको पोष्ट मार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाईएको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो ।