नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

खतरनाक बन्दै अष्टे«लियाको आगो, ५० करोड बढि जनावरको जलेर मृत्यु

ओखलढुङ्गान्युज, पौष  काठमाण्डौं । गएको चार महिना अगाडी देखी अष्टे«लियाको न्यु साउथ वेल्सको जङ्गलमा लागेको आगो निकै खतरनाक बन्दै गएको छ । चार महिना अगाडी देखी लागेको आगोले अष्ट्रेलियाको जंगल सखाप बनाउदै थप खतरनाक मोड लिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

गएको सेप्टेम्बर महिनादेखि लागेको आगोबाट हालसम्म २४ जनाले ज्यान गुमाइसकेका छन् भने झण्डै ५० लाख हेक्टरमा लगाइएको अन्नबाली समेत नष्ट भएको छ । आगलागी कारण झण्डै ५० करोड जनावर र पशुपंक्षी मरिसकेको पनि अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । आगलागीका कारण आफ्नो ज्यान जोगाउन भाग्दै गर्दा आगोको मुस्लोमा परेर ज्यान गुमाएको जनावरहरुको दर्दनाक तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

आगो लाग्न सुरु भएको लामो समय बितिसक्दा पनि अष्ट्रेलियाको जङ्गलमा लागेको आगो निभेको छैन । आगलागीमा फसेका जनावरहरुलाई बचाउन कैयौँ संस्था लागिपरेका छन् । आगलागीका कारण अहिलेसम्म अस्ट्रेलियाको १५ मिलियन एकड क्षेत्रफल जङ्गल खरानी भइसकेको जनाईएको छ ।

अष्ट्रेलिया सरकारले आफ्नो न्यु साउथ वेल्स र भिक्टोरिया प्रान्तको जङ्गलमा लागेको आगोको अवस्थालाई लिएर आपतकालीन स्थिति घोषणा गरेको छ । त्यस स्थानामा जाने सडकहरु बन्द गरिएको छ । त्यस स्थानमा बसोबास गर्दै आएका स्थानीय नागरिक र पर्यटकहरुलाई त्यहाँबाट अन्यत्रै पठाइएको छ । यो सिजनमा अष्ट्रेलिया सरकारले गरेको यो तेस्रो पटक आपतकालीन घोषणा हो । यहाँ ५० डिग्री सेल्सियससम्म तापक्रम मापन गरिएको छ ।

पछिल्लो केहिदिन यता वर्षात भएका कारण आगलागी नियन्त्रणको प्रयासका लागि केही राहत महशुस गरिएको छ । वर्षातको पानीका कारण त्यहाँको तापक्रम केहीदिन थप बढ्नसक्ने अनुमान गरिएको छ । आगलागी क्षेत्रबाट विस्तापित भएका नागरिकहरुलाई सरकारले अस्थायी बासस्थानको व्यबस्था गरि खानाको व्यबस्था गरिरहेको छ ।